Logo
Logo

कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ नेपालीको मृत्यु, उपचाररतलाई देश निकाला गरिने


3.6k
Shares

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको र करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत रहेको जनाएको छ ।

गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए ।कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् ।

रक्सी उत्पादन क्षेत्रमा प्रहरीको छापा मारेको छ । छापाको क्रममा नेपालीसहित विभिन्न देशका ६७ जनालाई पक्राउ गरेको छ ।
कुवेतको गृह मन्त्रालयका अनुसार अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।

अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको जनाइएको छ । ति नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।

पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको प्रहरीले ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिएको छ ।

आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको छ । कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।

कुवेतमा मदिराको उत्पादन, सेवन तथा बेचबिखनमा प्रतिबन्ध छ । मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ । सोहिअनुसार मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनस् कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।

कुवेतमा हाल १ लाख ६० हजार नेपाली कार्यरत छन् । कुवेतका जेलहरूमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मामिलामा पक्राउ परेकाहरू रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्