Logo
Logo

विन्दास खापुङ, तनाबमा चौबन्नीका एआइजी


28k
Shares

काठमाडौं । नेपाल प्रहरीका आइजीपी दीपक थापासहित तीन एआइजीको अवकाश हुने दिन नजिक आउदै गर्दा एक एआइजी चन्द्रकुवेर खापुङ बिन्दास देखिएका छन् । लामो समय आइजीपी हुन नपाए पनि इतिहासमा नाम दर्ज हुने सम्भावनालाई टार्न सक्ने अवस्था नभएकाले उनी विन्दास देखिएका हुन् । प्रहरी ऐनमा कुनै फेरबदल नआएमा १४ दिनभित्र आइजीपी थापा अवकाश हुँदैछन् ।

संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना समाप्त प्रायः हुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू भदौ १८ मा अनिवार्य रुपमा अवकाशमा जाँदैछन् । अझ कृष्णहरि शर्मा त भदौ १४ मै घर जाँदै छन् । शर्मा चाडै घर जाने भएकाले खापुङलाई झन सहज भएको छ ।

उता २०५४ सालमा भर्ना भएका र आइजीपीको मुखमा रहेका दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई भने तनाव उत्पन्न भएको छ । साथै, राष्ट्रिय अनुसन्धान विभागबाट आएका सिद्धिविक्रम शाहले पनि आफ्नो शक्तिलाई परिचालन गर्न थालिसकेका कारण उनीहरुलाई झन दबाब र तनाब भएको हो ।

आइजीसहित तीन एआइजी गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका डिआइजीले एआइजी र एसएसपी डिआइजी हुने छन् । यदि, संसदमा विचाराधीन अवस्थामा रहेको नेपाल प्रहरी विधेयक २०८१ अध्यादेशबाट जारी भएमा वा प्रहरी सेवा नियमावलीमा संशोधन गरी ३० वर्षे अवधि हटाएमा भने भदौमा कसैलाई पनि तनाब हुँदैन । त्यतिखेर २०५४ सालमा भर्ना भएका र अहिले एआइजीमा बहाल भई कात्तिकको अन्तिम साता आइजीपी हुने लाइनमा रहेकाहरुलाई तनाब उत्पन्न हुनेछ ।

राज्य व्यवस्था समितिमा आएको कुलिङ पिरियडको समस्यासँगै प्रहरी ऐनको छलफल नै रोकिएको र संसदमा विधेयक नै विचाराधीन रहेको स्थितिमा केही व्यक्तिलाई लक्षित गरी नियमावली मात्रै तलमाथि गर्ने अवस्था नभएकाले शुरुमा खापुङ र त्यसपछि कार्की, अधिकारी, केसी र शाहको पालो आउनेछ ।

आइजी दीपक थापा, एआइजीहरू टेकबहादुर तामाङ र सुदीप गिरी भदौ १८ को मध्यरातबाट सेवा निवृत्त हुँदैछन् भने अर्का एआइजी कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेरहद लागेर भदौ १४ को मध्यरात अवकाश हुँदैछन् । उनीहरूको अवकाशपछि अहिले डिआइजी दर्जामा कार्यरत चार अधिकृतले एआइजीमा बढुवा पाउँछन् । असोजसम्म थप एक डिआइजी रिक्त हुँदा पाँच एसएसपीले डिआइजीमा बढुवा पाउँछन् ।

नेपाल प्रहरीको वरिष्ठताअनुसार २०८१ मंसिर र पुसमा एसएसपीबाट डिआइजी बढुवा हुने अधिकृत अब हुने एआइजी बढुवाका दाबेदार हुन् । मंसिरमा बढुवा हुने ‘राअ टोली’ का ४ र पुसका ५ डिआइजी छन् । २०८१ मंसिर मा डिआइजी बढुवा भएका आठमध्ये तीनजना अवकाशमा गइसकेका छन् । सोही बढुवामा डिआइजी भएका सिद्धिविक्रम शाह एआइजी भइसकेका छन् ।

भदौमा रिक्त हुने तीन एआइजीका निम्ति एउटै ब्याचका चार डिआइजी दाबेदार हुन् । त्यसमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक क्रमशः ५ देखि ८ नम्बरमा बढुवा भएका थिए ।

उनीहरूमध्ये चर्तेुवेदी, श्रेष्ठ र राठौरले आफू एआइजीको दावेदारीमा पहिलो रहेको भन्दै हिड्न थालेका छन् । यी सबै राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

अनुसन्धान विभागमा उनीहरू एउटै मिति (२०५३ पुस ५) मा भर्ना भएका थिए । यीमध्ये राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखा, चतुर्वेदी मधेस प्रदेश प्रदेश, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् । २०८१ पुस २८ मा डिआइजी बढुवा भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि भदौको एआईजी बढुवामा उनीहरुलाई चुनौति दिइरहेका छन् ।

यी पाँचैजना नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका हुन् । यसमध्ये कार्की कोशी, भट्ट लुम्बिनी, आचार्य गण्डकी, पौडेल बागमती प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुकै व्याची एआइजी भैसकेकाले यो दावी स्वाभाविक छ । चार डिआइजी एआईजीमा बढुवा भएपछि असोजमा डिआइजी दर्जाका पाँच सीट खालि हुन्छ । त्यसका निम्ति १२ एजनाका बीचमा प्रतिस्पर्धा छ ।

अहिले डिआइजी रहेका सञ्जिव शर्मा दास उमेरहदका कारण अवकाश हुँदा डिआइजीको रिक्त संख्या पाँच पुग्ने हो । उक्त बढुवाका लागि यसअघि डिआइजी बढुवामा छुटेका शारदाप्रसाद चौधरीसहित २०८० वैशाख २४ गते बढुवा नियुक्त एसएसपी टोलीका १० जना दाबेदार छन् । चौधरी भने २०५५ जेठ ७ मा अनुसन्धान विभागमा भर्ना भई २०५८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

हाल उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । २०८० वैशाख २४ मा बढुवा भएका १० मध्ये हाल ९ एसएसपी सेवामा छन् । विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी र दीपशमशेर जबराले डिआइजी हुनका लागि आफ्नो दावी पेश गरिरहेका छन् ।

बसन्त रजौरे २०८० मंसिर ६ गते र रमेश बस्नेत २०८० माघ १७ मा एसएसपी बढुवा भएकाहरु पनि डिआइजीको दौडमा रहेका छन् । उनीहरुमध्ये अधिकारी अहिले काठमाडौंको कमाण्ड छन भने बस्नेत उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्डमा छन् । यसअघि खत्री, रजौरे, राठौर र भट्टराईले पनि काठमाडौका परिसर कार्यालयको कमाण्ड सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्