काठमाडौं । सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बोलाइएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीकी सांसद अनिता देवी पुगेका छन् ।

बैठकको मुख्य एजेन्डा उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव रहेको छ । कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार, उपसभामुख हटाउन २७४ सदस्यीय सभाको एक चौथाइ (६९ सांसद) को समर्थनमा प्रस्ताव दर्ता गर्न सकिन्छ, तर पारित गर्न दुई तिहाइ (१८३ सांसद) आवश्यक छ । कांग्रेस (८८)र एमाले (७९) को जोड १६७ मात्र पुग्छ । सत्तापक्षमा जनता समाजवादी पार्टी (७), जनमत (६), लोसपा (४) र नाउपा (४) सांसद छन् । विपक्षमा माओवादी (३२), रास्वपा (२१), राप्रपा (१३), एकीकृत समाजवादी(१०) लगायत छन् । सांसद दिपक बोहराको निधनले एक सिट रिक्त छ ।














