काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो प्रदर्शनी सुरु भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनद्वारा आयोजित नाडा अटो शोमा उड्ने कार आकर्षण बनेको छ । भदौ ८ गतेसम्म चल्ने नाडामा उड्ने कारसँगै विभिन्न मोडलका सवारी साधनहरु विशेष आकर्षण रहेको छ ।

अत्याधुनिक प्रविधियुक्त उड्ने ट्याक्सी ‘एमएडब्लू वृद्धि अटोकर्प’ कम्पनीले नेपाल ल्याएको हो । एमएडब्लूले चांगानकै लोकप्रिय उत्पादन ‘दिपल’ ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको छ । ‘दिपल एस–०५’ हालै सार्वजनिक गरिएको थियो । बिजुलीबाट चल्ने र आफैँ उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम ‘इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ’ (इ–भिटिओएल) हो ।
सवारी साधनका सौखिनका लागि प्रतीक्षा गरिरहेको नेपालको सबैभन्दा ठूलो ‘अटो प्रदर्शनी मानिएको ‘नाडा अटो शो’को पहिलो दिन उड्ने कारसँगै २ करोड २० लाख रुपैयाँ पर्ने गाडीसम्म हेर्न दर्शकको भिड लागेको थियो ।

नाडा अटो शोको यो १७औं संस्करण हो । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटनपछि नाडा अध्यक्ष करण चौधरीले यस संस्करणलाई प्रविधिमुखी र भविष्यमुखी बनाइएको बताए । उनका अनुसार अटो शोको मुख्य आकर्षण दीपल कम्पनीले तयार पारेको ‘उड्ने कार’ र मानिस जस्तै देखिने ‘ह्युमनाइज्ड रोबोट’ रहेका छन् ।
अध्यक्ष चौधरीले भौतिक पूर्वाधार मन्त्रालयले सवारी आयातसम्बन्धी नयाँ मापदण्ड बनाइरहेको बताउँदै उक्त मापदण्ड व्यवसायीमैत्री बनाउन नाडासँग सहकार्य गर्न सरकारलाई आग्रह गरे ।
नाडा अटो शोमा चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनका नयाँ मोडेलहरू, तिनका पार्टपुर्जा, टायर, ब्याट्री र अन्य एसेसरिजहरू एउटै छानामुनि राखिएका छन् । आयोजकले यसपटक लाखौं अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरेको छ । भृकुटीमण्डपका सबै हल स्टलले भरिएका छन् । प्रदर्शनीमा गाडी खरिद प्रक्रिया सहज बनाउन विभिन्न बैंक तथा बीमा कम्पनीले आकर्षक छुट र योजना ल्याएका छन् ।
केही समयअघि सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’को सफलताबाट उत्साहित व्यवसायीले यस मेलामा १५ देखि २० अर्ब रुपैयाँसम्मको कीर्तिमानी कारोबार हुने अनुमान गरेका छन् । यो मेला उनीहरूको वार्षिक बिक्रीको लगभग ३५ देखि ४० प्रतिशत हिस्सा ओगट्ने दावी गरेका छन् ।

नाडा अटो शोमा १९ लाखदेखि २ करोड २० लाख रुपैयाँसम्मका आधा दर्जन नयाँ मोडेलका गाडी सार्वजनिक भएका छन् ।
प्रदर्शनीमा ‘नामी–०६’ आकर्षक रहेको छ । यो कार नाडा अटो शोमा डोङफेङ नामीको आधिकारिक विक्रेता एमएडब्लू ग्रुपले सार्वजनिक गरेको हो । दुई भेरिएन्टमा उपलब्ध एसयूभीको इन्ट्री भेरिएन्ट ‘ई–२’ को मूल्य ३७ लाख ९९ हजार र ‘ई–२ प्लस’ को मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ सुरु गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, नाडा अटो शोमा कम मूल्यको कार ‘चांगान लुमिन’ पनि सार्वजनिक भएको छ । चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले चांगान लुमिनको मूल्य २२ लाख ९९ हजार तोकेको छ ।

यस्तै नाडामा बीवाइडीले ‘एटो–टु’ नामक एसयूभी नाडा अटो शोमा सार्वजनिक गरेको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो–टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो एउटा मात्रै भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसैगरी एक्सपेङको लक्जरी एमपीभी ‘एक्स–नाइन’ गाडी पनि नाडा अटो शोमा सार्वजनिक गरिएको छ । एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ सार्वजनिक गरेको हो । कम्पनीले एक्सपेङ एक्स–९ को मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ ।
यस्तै अर्को चिनियाँ ईभी ब्रान्ड जिलीका दुई मोडेलका गाडी पनि नाडा अटो शोमा प्रदर्शनी गरिएको छ । जिलीको आधिकारीक वितरक एलआरआर मोटर्सले ‘जिली ईएक्स ५ म्याक्स र प्रो तथा जेवाई एयर अल्ट्रा र लाइट’ गाडी सार्वजनिक गरेको हो ।
जिली ग्यालेक्सी एक्स ५ प्रोको बजार मूल्य ५८ लाख रुपैयाँ छ । तर, अटो शोमा ५४ं लाख ९९ हजारमा गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै जिली ग्यालेक्सी एक्स ५ म्याक्सको बजार मूल्य ६८ लाख रुपैयाँ छ । शोमा दिइएको अफर पछि गाडीको मूल्य ६४ लाख ९९ हजार राखिएको छ । जेवाई एयर अल्ट्राको बजार मूल्य ६८ लाख रुपैयाँ छ भने अटो शोमा ६४ लाख ९९ हजारमा पाइन्छ ।
यस्तै, नाडा अटो शोमा जिनपेङ ब्रान्डको आधिकारिक विक्रेता ठाकुर मोटर्सले ‘लिनबाक्स इसी ०१’ गाडीको मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो गाडी २ वटा भेरिएन्टमा उपलब्ध छ । प्रिमियम गाडीको मूल्य २३ लाख ४९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा टाटाको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘न्यु टाटा सफारी’ सार्वजनिक गरेको छ । सिप्रदीले शोमा ३ भेरिएन्टमा सफारी सार्वजनिक गरेको हो । कम्पनीले म्यानुअल भेरिएन्टको १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यस्तै अटोमेटिक भेरिएन्टको १ करोड २९ लाख ९९ हजार र डार्कको १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ ।
यस्तै, जापानी कम्पनी सुजुकीको पहिलो विद्युतीय कार ‘ई–भिटारा’ पनि नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ । नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारा नाडा अटो शोमा प्रदर्शन गरेको हो । यसको मूल्य भने सार्वजनिक गरिएको छैन ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शोमा यामाहा ‘एमटी–१५ भी२’ र ‘एफजेड एस भी३ डीएलएक्स’ को नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बाइक एमटी १५ सेतो र खैरो तथा एफजेड भी ३ सेतो रङमा देख्न पाइन्छ । एमटी १५ को दुवै नयाँ रङको मूल्य ५ लाख ५७ हजार ९ सय र एफजेड भी३ को मूल्य ४ लाख १२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, हिरोका ४ भेरिएन्ट पनि नाडा अटो शोमा सार्वजनिक गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘हिरो जुम १२५’ र ‘स्प्लेन्डर १२५ बीएस ६’, ‘एक्सपल्स २१०’ र ‘जुम १६०’ सार्वजनिक गरेको हो । कम्पनीले जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेर सार्वजनिक गरेको छ ।
उड्ने ट्याक्सीको विशेषता
उड्ने ट्याक्सी जमिनबाट अधिकतम ३००० मिटर उचाइसम्म उड्छ। एकपटक पूरा चार्ज गरेपछि ३५ किलोमिटर हाराहारी उड्न सक्छ । यसको अधिकतम गति १३० किलोमिटर प्रतिघन्टा हो । यसले एकचोटिमा २१ मिनेटसम्म उडान भर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । ब्याट्री पूरा रिचार्ज हुन दुई घन्टा लाग्छ ।
यो उड्ने ट्याक्सी सामूहिक यात्राका लागि बनेको होइन । बढीमा दुई जना यात्रु मात्र बोक्न सक्छ । त्यस्तै, करिब २२० किलो तौल बोक्न सक्ने विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यसमा दुई जना यात्रु बस्न मिल्ने सिट छ । दुई सिटको बीचमा ८ देखि १० इन्चको स्क्रिन हुन्छ। त्यो स्क्रिनमा ट्याक्सीको गति कति छ, ब्याट्री कति प्रयोग भयो, कति उचाइमा उडिरहेको छ, पुग्नुपर्ने दुरी कति टाढा छ लगायतका सूचना देखिन्छन् ।
मुख्य कुरा त, १६ वटा मोटर र १६ वटा पंखा प्रयोग गरिएकाले तीमध्ये कुनै एउटा मोटर वा पंखा चल्न छोड्यो भने पनि अरूले काम गरिरहन्छ। यसले सुरक्षित उडान र अवतरणमा समस्या आउन दिँदैन । सुरक्षाकै लागि ६ वटा क्यामरा र सेन्सर जडान गरिएको छ, जसले वरिपरिको दृश्य ३६० डिग्रीमा देखाउँछ।
खासगरी अगाडि र छेउको क्यामराले अग्ला अग्ला घरमा ठोक्किनबाट जोगाउँछ भने तल्लो क्यामराले ल्यान्डिङमा सहयोग गर्छ। यिनै क्यामरले चराहरूसँग ठोक्किनबाट पनि जोगाउँछ । उड्दा उड्दै कुनै अवरोध आए ट्याक्सीमा जडान गरिएका क्यामरा र सेन्सरले तुरून्तै सूचना दिन्छ ।
यो हवाई ट्याक्सी पूर्ण स्वचालित हो । यसमा पाइलट हुँदैन । यात्रुले उड्नुअघि नै गन्तव्य निश्चित गर्नुपर्छ । त्यही आधारमा ट्याक्सीमा प्रयोग गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले उडान मार्ग तय गर्छ ।











