काठामाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन अनुमति लिएर पनि विद्यालय नचलाउने, तर कमिसन र मोटो रकम लिएर किनबेच गर्ने प्रवृत्तिमा कडाइ गर्ने भएको छ । यस्ता गतिविधिमा संलग्न केही निजी तथा संस्थागत विद्यालयको सञ्चालन अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले यस्ता विद्यालयको सेयर स्वामित्व र आवश्यक कागजपत्रको अध्ययन गरिरहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट अनुमति लिएर पनि सञ्चालन नभएका विद्यालयको सङ्ख्या पत्ता लगाउन अध्ययन भइरहेको छ । यस्ता विद्यालयको विवरण गोप्य राखिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट कागजपत्र अध्ययन गरेपछि मात्र कुन–कुन विद्यालयको अनुमति खारेज हुन्छ भन्ने यकिन हुने जनाइएको छ । केही विद्यालयले ‘स्वामित्व परिवर्तन’ का लागि निवेदन दिएपछि यस्तो प्रवृत्ति पत्ता लागेको हो ।
निवेदनका आधारमा कागजपत्र जाँच गर्दा सञ्चालनमा नरहेका विद्यालय पनि किनबेच भइरहेको पाइएको छ । महानगरपालिकाले यस्ता विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नगर शिक्षा समितिको बैठकले यस्ता विद्यालयको दर्ता खारेज गर्ने निर्णय गरेको र यस्ता विद्यालयको सङ्ख्या यकिन गर्न तथ्याङ्क सङ्कलन भइरहेको बताए ।
काठमाडौं महानगरपालिकाभित्र हाल ६०० भन्दा बढी निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् । अनुमति लिएर पनि सञ्चालन नगर्ने र किनबेचमा संलग्न विद्यालयविरुद्ध महानगरपालिकाले कडा कदम चाल्ने सङ्केत गरेको छ ।














