Logo
Logo

सेटिङमा उपत्यकाका मालपोत प्रमुखको काज सरुवा

सामान्यमा सहमति माग्दै भूमि मन्त्रालय


3k
Shares

काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७८ लाख रकम डिल गरेको अडियो प्रकरणमा राजकुमार गुप्ताले राजीनामा दिएपछि भगवती न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएकी छन् । उनले जिम्मेवारी पाएपछि सरुवामा पारदर्शीता कायम गर्ने प्रतिबद्धता प्रकट गर्दैआएकी छन्, जुन भदौ २ गतेको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा देखिएको छ ।

२५ उपसचिव र ४४ शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा मन्त्री न्यौपानेले पारदर्शीरुपमा गरेको चर्चा सामान्य प्रशासन मन्त्रालयमा हुने गरेको छ । बाटुलेचौरस्थित लिचीबारीको १ सय ३५ रोपनी जग्गा काण्डमा मुछिएका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गएको साउन १४ गते राति सुटुक्क काठमाडौं उपत्यकाका तीन र उपत्यका बाहिरका ७ गरी १० मालपोत कार्यालयका प्रमुखहरु काजसरुवा गरेका थिए ।

बिचौलिया खड्काको सेटिङमा गरिएका ती काजसरुवाको सहमतिका लागि सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । दररेट तोकेर भएको उक्त सरुवाको बारेमा भूमिब्यवस्था मन्त्रालयभित्रै असन्तुष्टि ब्याप्त छ । भूमिब्यवस्था मन्त्रालयमा बर्षौदेखि कार्यरत उपसचिव रोशनशंकर घिमिरे, कृष्ण भण्डारीहरुलाई मालपोत कार्यालयको प्रमुखमा सरुवा गरिने अपेक्षा गरिएको थियो । तर भर्खरमात्र बढुवा भएका उपसचिव माधव घिमिरेलाई सबैभन्दा आकर्षक मालपोत कार्यालय भक्तपुरमा काजसरुवा गरिएको छ ।

नायबसुब्बादेखि नै मालपोतमा रजगज गरेका अशोक भट्टराईलाई पर्सा मालपोतबाट अर्को आकर्षक ललितपुर मालपोत कार्यालय ललितपुरमा काज सरुवा गरिएको छ । धनकुटा मालपोतबाट सहकारी नियमन प्राधिकरणमा आएका उपसचिव रविन ढकाललाई कलंकी मालपोतमा काजसरुवा गरिएको छ ।

यी तीनै जनासँग बिचौैलिया खड्काले दररेट नै तय गरेर मन्त्रीलाई बुझाएपछि काज सरुवा गरी सामान्य प्रशासन मन्त्रालयमा सहमति माग गरिएको छ । सहमति मागिएको यो बेथितिपूर्ण सरुवाको सहमति दिनु नहुने भूमिब्यवस्था मन्त्रालयका एक अधिकारी बताउँछन् । उपत्यकाका मालपोत कार्यालयको प्रमुखमा सरुवाका लागि बिचौलियाले २० देखि २५ लाख दररेट तोक्ने गरेका छन् । त्यसमा पनि बढाबढ गर्दै तीन जिल्लाका मालपोत प्रमुखको काज निकालिएको स्रोत बताउँछ ।

त्यसैगरी, साउन १४ गते नै सरुवा गरिएका कलंकी मालपोतका प्रमुख पूर्णबहादुर केसी कास्की मालपोतमा काजसरुवा भएका छन् । उपत्यकाका मालपोतभन्दा पछिल्ला दिनमा कास्की महत्वपूर्ण मानिन्छ । कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गर्नका लागि बिचौलिया सुजन लामाले राजीनामा दिएका मन्त्री गुप्ता र भूमिब्यवस्था मन्त्री बलराम अधिकारीलाई ७८ लाख दिएको अडियो काण्ड छताछुल्ल भइसकेको छ ।

त्यस्तै खेमराज खत्री धादिङबाट पर्सा मालपोत, मनोजकुमार पोखरेल महोत्तरीको गौशालाबाट धादिङ मालपोतमा सरुवा भएका छन् ।

ललितपुर मालपोतका जीवनकुमार सेढाई र दोलखा मालपोतकी हिरादेवी पौडेल भूमिब्यवस्था मन्त्रालय, सुर्खेत मालपोतका राजेन्द्रप्रसाद पौडेल दोलखा मालपोत कार्यालयको प्रमुखमा सरुवा भएका थिए ।

यसअघिका सामान्य प्रशासन मन्त्री गुप्ताले प्रमोद खड्का नामक बिचौलियामार्फत् सेटिङमा दिनहुँ सरुवा गर्ने गरेका थिए । बिचौलिया खड्काले २ बर्ष अवधि नै नपुगेका खरिदार, नायबसुब्बा, अधिकृतको सूची दिने र गुप्ताले सरुवा गर्ने गरेका थिए । सामान्यबाट कर्मचारीको सरुवा गर्दै मालपोतमा दररेट तोकेर सरुवा गर्ने क्रम गुप्ताको कार्यकालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्