Logo
Logo

लिपुलेक प्रयोग गर्ने भारत-चीनको सहमतिमा नेसपाको आपत्ति


441
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै भारत चीनको उक्त कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति देखाइएको गम्भीर उपेक्षा र अपमानका रूपमा चित्रण गरिएको छ ।

‘नेपालको स्पष्ट आपत्तिका बाबजुद पनि भारत र चीनले पुनः त्यही गल्ती दोहो¥याउनु दुःखद मात्र नभई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्ति हो,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले सीमा विवाद र कूटनीतिक संवेदनशील विषयहरूको समाधानका लागि नेपालले प्रभावकारी, सशक्त र परिणाममुखी पहल गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टीले नेपालले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहमतीय ढाँचा निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको उल्लेख गर्दै नेसपाले त्यतिबेलै नेपाल सरकारले कूटनीतिक असहमति जनाएको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्