
काठमाडौं । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाएर सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति विरोध जनाएको छ ।
नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गरेर बनाइएको औषधि भन्दै स्वास्थ्यममन्त्री प्रदीप पौडेलले यही भदौ ५ गते धनगढीमा बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम सुरु गरेका थिए ।
मन्त्री पौडेलले खुवाउन सुरु गरेको आयुर्वेदिक औषधि स्वर्ण विन्दु कुनै वैज्ञानिक अध्ययन, आधिकारिक निकायमा दर्ता तथा स्वीकृति अनि अपेक्षित प्रभावको प्रामाणिकताबिना नै सुरु गरेको पाइएको भन्दै नेपासले विरोध जनाएको हो ।
कुनै पनि औषधि बनाउँदा औषधिसहित त्यसमा प्रयोग हुने पदार्थहरू समेत दर्ता गर्नुपर्छ । तर, दर्ता र परीक्षण नै नभएको औषधि बच्चालाई खुवाउने अभियान स्वास्थ्यमन्त्रीले सुरु गरेपछि सरकारको यो कार्यक्रमप्रति नेपासले विज्ञप्ति जारी गर्दै असहमती प्रकट गरेको हो ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै सरकारले निर्देशिका जारी गरेर पहिलो चरणमा देशका २५ आयुर्वेदिक चिकित्सालयबाट स्वर्ण विन्दु खुवाउने कार्यक्रम सुरु गरेको छ ।
‘हालसम्म उपलव्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएका हुँदा शिशुहरूमा स्वर्णकल्पबाट प्रतिरक्षा प्रणालीको वृद्धि हुने आधारको अभाव र दर्ता व्याच परीक्षण सार्वजनिक नभएका कारण यो सरकारी अभियानप्रति नेपासको सहमति नरहेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।














