Logo
Logo

अस्वभाविक दररेट पेश गर्दै सरकारी निकायका क्यान्टिनको ठेक्का लिँदै


1.2k
Shares

काठमाडौं । संघीय सरकारका सबै मन्त्रालय रहेको सिंहदरबारदेखि अस्पताल र बिभिन्न अन्य सरकारी निकायहरुमा चमेनागृह(क्यान्टिन)को ठेक्कामा सेटिङ हुँदैआएको छ । विगतमा चमेनागृह संचालनमा ठूलो चलखेल हुँदैनथ्यो । कार्यालय सहयोगी र प्रशासन शाखाका प्रमुखको तजबिजमा संचालन हुँदैआएका सरकारी क्यान्टिन पछिल्लो समय टेण्डरका माध्यमबाट दिने गरिए पनि त्यसमा समेत ठूलो सेटिङ हुने गरेको छ ।

देशको पुरानो अस्पतालका रुपमा चिनिने वीर अस्पतालको क्यान्टिन संचालनका लागि अस्पताल प्रशासनले टेण्डर आह्वान गर्यो । थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै गुजेश्वरी होटल प्रालिले २०८१ कात्तिक ९ गते प्रकाशित सूचना अनुसार क्यान्टिन संचालनको जिम्मा पायो । टेण्डर डकुमेन्टमा फर्जी कागजात पेश गरेको तथ्य मिडियामा उजागर भएपछि राष्ट्रिय सतर्कता केन्द्रको लामो समयको छानबिनपछि उक्त टेण्डर रद्द गर्न अस्पताल प्रशासन बाध्य भयो ।

सतर्कता केन्द्रको पटक पटकको निर्देशनपछि उपकुलपतिस्तरीय निर्णयका आधारमा सम्झौता रद्द गरी गुजेश्वरीलाई ३ महिनाभित्र क्यान्टिन छाड्न समय दिइयो । गुजेश्वरीले क्यान्टिन छाड्नुको साटो जिल्ला अदालतमा मुद्दा हालेर क्यान्टिन संचालन गरिरहेको छ । पेशी सार्दै क्यान्टिन संचालन गर्दैआएको गुजेश्वरीलाई कीर्ते कागजात पेश गरेकोमा प्रहरीमा उजुरी गर्नुपर्नेमा अस्पताल प्रशासनले संरक्षण गरिरहेको छ । फर्जी कागजात पेश गरी टेण्डर कब्जा गरेको गुजेश्वरीले अहिलेसम्म क्यान्टिन संचालन गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले पटक पटक क्यान्टिन खाली गराउन मौखिक निर्देशन दिए पनि उसले टेरपुच्छर लगाएको छैन । गुजेश्वरीले टेण्डर हात पार्नुअघि उक्त क्यान्टिन जी एण्ड बी क्याफ्टेरियाले संचालन गर्दैआएको थियो । पछिल्लो टेण्डरमा समेत दोस्रो प्रतिस्पर्धी बन्न सफल भएको जीएण्डबी क्याफ्टेरियाका संचालकले नै गुजेश्वरीलाई क्यान्टिन संचालन गर्न पर्दापछाडिबाट सहयोग गरिरहेको स्रोत बताउँछ । मासिक रुपमा केही रकम दिने सर्तमा जीएण्डबीले गुजेश्वरीलाई सहयोग गर्दैआएको छ ।

त्यसैगरी, वीर अस्पतालको क्यान्टिन देखावटीरुपमा छाडे पनि जीएण्डबीले मासिक १० लाख भाडा तिर्नेगरी सर्वोच्च अदालतको क्यान्टिनको ठेक्का पारेको छ । सर्वोच्च अदालतमा मुद्दामा समेत चलखेल गर्ने गोपाल सुवेदीले क्यान्टिन संचालन गर्दैआएका थिए ।

सेटिङमै सर्वोच्चको क्यान्टिनको ठेक्का हात पार्न सफल जीएण्डबी न्यायपालिकामा मात्र सीमित रहेन, मुलुककै प्रशासनिक मुख्यालय सिंहदरबारको सर्भिस सेन्टरमा अवस्थित सबैभन्दा ठूलो चमेनागृहको ठेक्का पनि प्राप्त गर्न सफल भएको छ ।

सेटिङमै उक्त टेण्डर हात पारेको जीएण्डबीले एक सातादेखि उक्त क्यान्टिन संचालन गरिरहेको छ । क्यान्टिनको मेनुमा ६३ किसिमका खानेकुरा पाइने उल्लेख गरी ती खानेकुरा अति कम दररेटमा दिने गरी ठेक्का पाएको छ । जुन मूल्यमा जीएण्डबीले खाना खाजा खुवाउने कबोल गरेको छ, बजारमा सो मूल्यमा ती खानेकुरा पाउनै नसक्ने यथार्थता छ । मेनुमा भएका ६३ किसिमका खानेकुरामध्ये केही मात्र बनाउने र अरु सबै मेनुभन्दा फरक खानेकुरा बनाई चर्को मूल्यमा बिक्री गर्ने र अत्यधिक मुनाफा कमाउनकै लागि सेटिङमा ठेक्का लिने क्रम बढेको छ ।

उदाहरणका रुपमा जीएण्डबीको मेनुमा मटन खाजा सेट १ सय १५ रुपैयाँमा दिने भनिएको छ । तर मेनुमा राखिएका अधिकांश खानेकुराहरु उपलब्ध नगराउने र मेनुमा नभएका खानेकुरा बिक्रीबितरण गरी चर्को मुनाफा लिइरहेको जीएण्डबीले रेडियो नेपालको क्यान्टिनसमेत कब्जा गर्न सफल भएको छ । सिंहदरबारस्थित रेडियो नेपालको चमेनागृह संचालनको टेण्डर पाएको जीएण्डबीका संचालक अर्जुन अर्याल हुन्, जसले न्यूरो अस्पताल माइतीघरबाट चमेनागृह संचालन सुरु गरेका थिए । उनी अहिले ठूला ठूला सरकारी क्यान्टिनहरुको ठेक्का सेटिङमा लिनेमा अग्रपंक्तिमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्