Logo
Logo

वीरमा यत्रतत्र भ्रष्टाचार, अख्तियारमा गुहार


1.4k
Shares

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा हुने गरेका अनियमितताले सीमा नाघेको छ । अस्पतालको नर्सिङ प्रमुख ११ औं तहकी संगीता श्रेष्ठले अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि बिभिन्न निकायमा उजुरी परेको छ । उनले नर्स भर्नामा समेत अनियमितता गरेको उजुरी परेको छ । प्रतिब्यक्ति दररेटका आधारमा नर्सिङ कर्मचारी नियुक्ति सिफारिस गरिएकाले छानबिन गर्न माग गरिएको छ ।

प्रमुख श्रेष्ठले अस्पतालका निर्देशक र उपसचिवको निर्देशन अवज्ञा गर्ने गरेको, सरसफाइसम्बन्धी सामान गुणस्तरहीन खरिद गरी लाभ लिने गरेको आरोप उजुरीमा लगाइएको छ । सरसफाइ ठेकदार कम्पनी इन्फो– टेकसँग ठेक्का सौझौता गर्दा कमिसन लिएर सहमति दिएको, वीर अस्पतालमा गार्डको ठेक्का पाएको जि–फोर्स कम्पनीसँग पनि आर्थिक लाभ लिन खोजेको र नपाएपछि सम्झौता खारेज गरिदिने गार्डहरुलाई दुःख दिने गरेका छन् ।

उजुरीमा उल्लेख छ–वीर अस्पतालमा निजी नर्सिङ कलेजबाट प्रयोगात्मक अभ्यास गर्ने सहमति दिंदा कलेजैपिच्छे दररेट उठाएर सो कलेजलाई वीर अस्पतालमा नर्सिङ बिद्यार्थीलाई अभ्यास गराउन दिने गरिएको छ । अस्पतालका स्टोरकिपरहरुसँग कमिसनको भागबण्डा माग्ने गरेको अस्पतालमा विरामीलाई खुवाउने रासनपानीमा समेत ब्यापारीसँग मोलमोलाइ हुने गरेको छ ।

खरिद एकाई र लेखा शाखासँग महिना अनुसार ब्यापारीलाई भुक्तानी दिएको रकमको १० प्रतिशत कमिसन माग गर्ने गरेको आरोप पनि उजुरीमा लगाइएको छ । स्टोर र खरिदका कर्मचारीहरु ब्यापारी, स्टोर, खरिद, लेखा सबैतिर संगीताकै दवदवा भएपछि रुष्ट छन् ।

उजुरीमा उल्लेख छ–अस्पतालमा नर्सिङ र अनमिका लागि आएको सबैजसो तालिममा श्रेष्ठ आफैं जाने गरेकी छन् । कार्यालय समयमै निजी कलेज पढाउन जान्छिन् भने कार्यालयमा भएको बेलामा पनि अनलाइन पढाउने गरेकी छन् ।

अस्पतालमा सरसफाइ गर्ने कर्मचारीलाई आफ्नो घरमा काममा लगाउने गरिएको छ । अस्पतालमा वार्ड इन्चार्ज खटाउँदा समेत लाभहानीका आधारमा गर्ने गरिएको छ । आफूनिकटलाई मात्रै इन्चार्ज बनाइन्छ । यस्ता बेथितिकोे बिरोध गर्ने कर्मचारीलाई महिनैपिच्छे सरुवा गरेर दुःख दिने गरिएको छ ।

नर्सिङ कर्मचारी सरुवामा पनि उनकै हैकम चल्ने गरेको छ । गएको साउनमा २८ जना करार कार्यालय सहयोगी म्यादथप गर्दा दररेट तय गरी मागिएको उजुरीमा उल्लेख छ । कार्यालय सहयोगीले दररेट नदिएपछि तिनीहरुलाई सेवा करार ठेक्कामा लैजानुपर्छ भन्दै स्वास्थ्य मन्त्रालयसम्म लबिङ गर्न समेत पुगेका थिए । भर्खरै भएको अस्पताल फार्मेसी टेण्डरमा कमिसन दिने ब्यापारीलाई मात्रै मिल्नेगरी मेडिसिन तथा सर्जिकल समान लिष्टीङ गर्न दबाब दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्