सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४, हिन्दी नजिकै बोलेरो गाडी भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । तातोपानीबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सर्लाही, बरहथवा नगरपालिका-२ का २३ वर्षीय राजेशकुमार कुसवाह र सहचालक २५ वर्षीय रामप्रवेश महतो बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय, कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, बोलेरोलाई स्काभेटरको सहयोगमा डोरीले तान्ने क्रममा एक जनाको शव भोटेकोशी नदीले बगाएको देखिएको छ ।
अर्को शव पहिल्यै बगिसकेको हुन सक्ने प्रहरीको अनुमान छ। बेपत्ताको खोजीमा प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसे सक्रिय रहेको प्रहरीले जनाएको छ ।














