काठमाडौं । रूसले युक्रेनमाथि भीषण आक्रमण गरेको छ । रुसले बिहीबार ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

बीबीसीका अनुसार उक्त आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे भनेका छन्, ‘रूसले शान्ति होइन, मिसाइल रोजेको छ ।’ रूसी मिसाइलका छर्राबाट ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको समाचारमा उल्लेख छ । रूसी आक्रमणमा ब्रिटिश सरकारको सम्पत्तिमा क्षति भएको यो पहिलोपटक हो ।
आक्रमणबाट युरोपेली संघ मिसनका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ । बेलायत र युरोपेली संघले रूसलाई कडा चेतावनी दिएका छन् भने ह्वाइट हाउसले भने वार्ता जारी रहने बताएको छ ।
यसैबीच अमेरिकी सांसद लिन्डसे ग्राहामले युक्रेनमा रूसी आक्रमणपछि भारतविरुद्ध आवाज उठाएका छन् । उनले रूसी आक्रमणको प्रसंग उठाउँदै प्रश्न गरे, ‘भारतलाई अब कस्तो लागेको होला ?’
लिन्डसे ग्राहामले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, ‘भारत, चीन, ब्राजिल र अरू देशहरूले रसियाबाट सस्तो तेल किनेर पुटिनको युद्ध मेसिनलाई शक्ति दिइरहेका छन्– अब कस्तो अनुभव भइरहेको छ ? तपाईंहरूको खरिदका कारण निर्दोष मानिसहरूको ज्यान गइरहेको छ । तीमध्ये बच्चाहरू पनि छन् ।’
लिन्डसेले एउटा भिडियो पनि शेयर गरेका छन् जसमा युक्रेनमा रसियाको आक्रमणमा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको देखाइएको छ ।











