काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ ।

रञ्जिताले आइतबार आज र सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएकी छन् । दिउँसो बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले बताए ।
तर, अध्यक्ष रञ्जिताले बोलाएको बैठकमा रेशम पक्षधर सहभागी हुने छैनन् । रेशम पक्षका एक नेताले अध्यक्ष श्रेष्ठे बोलाएको बैठकमा आफू नजाने बताए ।
रेशम पक्षले अध्यक्ष रञ्जितालाई पदमुक्त गरेपनि निर्वाचन आयोगले उनी नै कायम रहने निर्णय गरेको थियो । रेशम पक्षले रञ्जितालाई हटाएर लालबीर चौधरीलाई अध्यक्ष बनाएपछि दुईपक्षको विवाद थप बढेको थियो ।














