
काठमाडौं । बाढी पहिरोका कारण देशका मुख्य राजमार्गका १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा ८ ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । जसमा काठमाडौँ उपत्यकामा नागार्जुन नगरपालिका–८ स्थित भिमढुंगा ठुलो खोलामा पहिरो जाँदा धार्के चल्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण नदीमा अविरल वर्षाका कारण डाइभर्सन बगाएपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै बागमती प्रदेशमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका –२ मा बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुल बगाउँदा डेढ महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ । यसैगरी सोही वडाको स्याउ पार्किङमा पहिरो जाँदा पासाङल्हामु सडक पूर्ण अवरुद्ध छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग, नुवाकोटको विदुर नगरपालिका १० तिरतिरे भिरमा पहिरो जाँदा पासाङ ल्हामु सडक पूर्ण रूपमा अवरुद्ध छ ।
म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा पहिरो जाँदा बेनी–दरवाङ सडक र लमजुङको लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झर्नामा पहिरो जाँदा बेसीशहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध छ । लुम्बिनी प्रदेशमा रोल्पाको रोल्पा त्रिवेणी गाउँपालिका–२ घोराही थवाङ सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण र सोही नगरपालिकाको वडा ११ सिसापानीको दुई स्थानमा गएको पहिरोका कारण जाजरकोट डोल्पा भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ । यस्तै कोलिकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा पहिरो जाँदा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।
जाजरकोटको भेरी नगरपालिका –४ मूलपानीमा बाढीका कारण जाजरकोट सडक, सोही नगरपालिका १ कालेगाउँ मा पहिरोका कारण जाजरकोट–खलङ्गा–रिन्ना सडक र छेडागाड नगरपालिका–२, ४ मर्फिङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
यता तेह्रथुमको लालीगुराँस नगरपालिका तिनधुरेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग, गोसाईंकुण्ड गाउँपालिका –३ मेदामुदुङमा पहिरोका कारण पासाङ ल्हामु सडक र रसुवाकै उत्तरगया गाउँपालिका–५ नौबिसेमा बाढीका कारण गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रुवेसी जाने सडक एकतर्फी सञ्चालन छ ।
दाङको लमही नगरपालिका–९ जालीमा बाढीका कारण राप्ती राजमार्ग र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ बरमकोट नौलापानीमा पहिरो जाँदा सालझण्डी ढोरपाटन सडक एकतर्फी चालु छ ।
गण्डकी प्रदेशमा बागलुङको बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो जाँदा कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–३ तरङखोलामा पहिरो जाँदा कालीकण्डकी करिडोर र तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा छ । एकतर्फी सञ्चालन भइरहेका तथा पूर्ण अवरुद्ध रहेका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
















