जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-२०, देवपुरा रुपैठामा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, स्थिति नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका हुन् ।

उनको दुवै घुँडामा गोली लागेको छ र हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । झडपमा सातजना प्रहरी र केही सर्वसाधारण पनि घाइते भएका छन् । घाइते प्रहरीको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटना शनिवार जनकपुरधामको झण्डाचोकमा रहेको टावरलाइटको पोलमा राखिएको हरियो झण्डा हटाउने विषयलाई लिएर दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो ।
सो क्रममा प्रहरीले स्थिति नियन्त्रण गर्न ११ सेल अश्रुग्यास प्रहार गरेको थियो । आइतबार दुवै पक्षका अगुवा र प्रहरी प्रशासनबीच झण्डाचोकमा रहेका दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो ।
तर, सहमति कार्यान्वयन गर्ने क्रममा पुनः झडप भएको र प्रहरीले गोली तथा अश्रुग्यास प्रहार गरेको हो । हाल देवपुरा रुपैठामा तनावपूर्ण स्थिति कायम छ ।














