काठमाडौं । अमेरिकाले सहयोग स्वरुप दिने भनिएको स्काई ट्रक नेपालले पाउने भएको छ । लामो समयदेखि अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एउटा एयर एम्बुलेन्स विमान दिने भनेपनि केही समयदेखि रोकिएको अवस्थामा यही भदौ महिनाको अन्तिम सातामा हस्तान्तरण गर्ने भएको हो । त्यसका लागि नेपालमा विमान आइसकेका छन् । विमानस्थलमा केही दिन अघि ती विमानहरु आइपुगेका हुन् ।

नेपाली सेनालाई सहयोग गर्दै आएको अमेरिकी सरकारले यसपटकको विमान सहयोगलाई प्राविधिक समर्थन मात्र नभई क्षेत्रीय राजनीतिसँग गाँसिएको एउटा रणनीतिक सन्देशका रूपमा पनि हेरिएको छ । ‘यही महिनाको अन्तिम साता चीनसँग सैन्य अभ्यासको तयारी हुनु, प्रधानसेनापतिको चीन भ्रमण तय भएपछि अमेरिकाले यी दुई सामाग्री हस्तान्तरण गर्न लागेको हो । ‘चीनसँगको संयुक्त सैन्य अभ्यास र प्रधानसेनापतिको चीन भ्रमणको तय भएपछि अमेरिकाले स्काई ट्रक हस्तान्तरणमा हतार गरेको देखिन्छ’, स्रोतले भन्यो ।
नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारलाई औपचारिक रूपमा जानकारी दिंदै दुवै विमान नेपाली सेनालाई उपलब्ध गराउने तयारी गरेको जनाएको छ । सन् २००२ देखि अमेरिकाले नेपाली सेनालाई विभिन्न प्रकारका हेलिकोप्टर, साना तथा मध्यम आकारका विमान उपलब्ध गराउँदै आएको छ ।
यो सहयोगले सेनाको ‘विपद् व्यवस्थापन क्षमतामा वृद्धि’ मात्र नभई दूरदराजका नागरिकलाई राहत पु¥याउने विश्वास नेपाली सेनाले गरेको छ ।
नेपाल अहिले भारत र चीनबीचको सम्बन्धमा चिसोपन देखिएको संवेदनशील अवस्थामा छ । यस्तै बेलामा अमेरिकाले दुई विमान हस्तान्तरण गर्न लागेको सन्देशलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेर्न थालिएको छ । अमेरिकाले नेपालसँग प्रत्यक्ष सैन्य गठबन्धन नगरी मानवीय सहायता, विपद् व्यवस्थापन र स्वास्थ्य सुरक्षाका नाममा आफ्नो प्रभाव विस्तार गर्न खोजेको देखिन्छ ।
नेपालमा अमेरिकाको सहयोगलाई कतिपयले सकारात्मक रूपले लिएका छन् । विपद् व्यवस्थापन, स्वास्थ्य उद्धार र सैनिक क्षमतामा वृद्धि त निश्चित हुने नै छ । तर अर्कोतर्फ केही विज्ञहरूले यसलाई सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपालले आफ्नो भौगोलिक स्थिति र संवेदनशीलता बुझ्नुपर्छ । कुनै पनि शक्तिको प्रभावमा गइयो भने नेपाल–भारत–चीन त्रिकोणमा असन्तुलन पैदा हुने सम्भावना रहन्छ । त्यसैले नेपालले सहयोग लिंदा आफ्नो स्वाधीनता र भौगोलिक अखण्डतालाई अक्षुण राख्ने स्पष्ट नीति आवश्यक छ ।
अमेरिकाले नेपाली सेनालाई दुई विमान दिने तयारी प्राविधिक सहयोग भन्दा धेरै राजनीतिक सन्देश बोकेको छ । एउटा तर्फ सेनाको उद्धार तथा विपद् व्यवस्थापन क्षमतामा वृद्धि हुनेछ भने अर्को तर्फ यसले नेपाललाई भारत–चीनबीचको शक्ति सन्तुलनमा ‘तटस्थ तर उपयोगी’ भूमिका खेल्ने अवसर पनि दिनेछ ।
दीर्घकालमा नेपालले यस्ता सहयोगलाई सन्तुलनमा राख्दै आफ्नो स्वतन्त्र परराष्ट्र नीतिलाई सुरक्षित गर्न सके मात्र यो सहयोगले मुलुकलाई फाइदा पुग्ने देखिन्छ । यसअघि पनि अमेरिकाले नेपाली सेनालाई १ मिलियन अमेरिकी डलरको सामाग्री सहयोग गरेको थियो । अमेरिकी सेनाले चार वटा रेस्क्यू बोटसहित एक मिलियन बराबरको सामाग्री सहयोग गरेको थियो ।











