Logo
Logo

बीओपीका इन्चार्जसँग सेटिङ, मधुवनीबाट तस्करी


756
Shares

मलंगवा । सर्लाहीका सीमा नाकाबाट तस्करी बढेको छ । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलकै सेटिङमा तस्करी हुने गरेको छ । सशस्त्रका बहादुर बीओपी र मधुवनी बीओपीकै इन्चार्जको सेटिङमा तस्करीको लाइन चलेको छ ।

राजेश ठाकुर, नवीन चौधरी, बिजय यादवको समूहले नेपालबाट स्याउ, चिनियाँ मकै, चिनियाँ नास्पाती भारततर्फ तस्करी हुँदैगएको छ । चिनियाँ मकै चीनबाट तस्करी गरी ल्याउने र सीमानाकाबाट भारततर्फ पठाउने गरिएको छ । कवाडी पनि सीमाबाट भन्सारछली गरी भारततर्फ लाने गरिएको छ ।

भारतबाट कपडा ल्याउने काम दिनेश यादवले गर्दै आएका छन् । मधुवनीबाट श्रवण यादव र सरोज यादवले अर्नाहा प्रहरी चौकीछेउबाटै ओसारपसार गर्दैआएका छन् । राजेश ठाकुरले दैनिक १२ देखि १५ वटा पिकअप भ्यानबाट सामान ओसारपसार गर्दैआएका छन् । भारतीय नम्बर प्लेटका ती पिकअप भ्यानले सामान ओसार्ने गरेका छन् ।

बीओपी बहादुरपुरका इन्चार्ज सई राजकुमार प्याकुरेल र मधुवनीका इन्चार्ज इन्स्पेक्टर प्रमोद विष्ट छन् । प्याकुरेल र बिष्टले उल्लेखित ब्यापारीहरुलाई तस्करीको लाइन दिएको स्रोत बताउँछ । विष्ट एआइजी बंशी दाहालका स्टाफ अफिसरका रुपमा कार्यरत रहेका थिए ।

स्रोतका अनुसार १० नं. गण सर्लाहीका एसपी देवीबहादुर चन्दलाई समेत मिलाएर सर्लाहीका नाकाबाट तस्करीको लाइन खोलिएको छ ।

यसैबीच, सर्लाहीको मुख्य तस्करी हुने नाकामध्ये गोरखकाली प्रमुख मानिन्छ । यो नाकाबाट समेत ब्यापक तस्करी भइरहेको छ । गोरखकाली प्रहरी चौकीमा सरुवा हुनका लागि चलखेल हुने गरेको छ । बुझाएर जानेहरुले लगानी उठाउनैपर्ने भएकाले यो नाकाबाट अहिले व्यापक तस्करी भइरहेको छ ।

यस नाकाबाट बिद्युतीय सामान,सूर्ति, कपडा, स्याउ, मकै, धान, कस्मेटिकको तस्करी हुने गरेको छ । गोरखकाली चौकी मातहत नौ वटा अबैध मदिरा भट्टीहरूसमेत रहेका छन् । यी भट्टीहरूबाट उत्पादित मदिरा भारततर्फ तस्करी हँुदै आएको छ । अबैध भट्टी संचालन गर्न सहयोग गरेवापत एउटा भट्टीले जिल्लाका घुमुवा बाहेक स्थानीय प्रहरीलाई मासिक दररेट बु्झाउने गरेको समेत भट्टी चलाउनेहरू खुलेआम नै बताउँछन् ।

त्यसैगरी भारतको बिहार राज्यमा मदिरा निषेध गरिएकाले गोरखकाली क्षेत्रका प्रतीक र सहारा नामका होटलमा भारतीयहरू मदिरा सेवनका लागि आउने गर्दछन् । बिहानदेखि राति अबेरसम्म मात्रै होइन मध्यरातसम्म मात्रै नभएर कहिलेकाहीँ त रातभर नै होटलमा भारतीय ग्राहकले मदिरा सेवन गरेर बसिरहेको देख्न सकिन्छ । त्यसरी छुट दिएवापत होटलले प्रहरीलाई महिनावारी राम्रो रकम दिने गरेको समेत होटलका कर्मचारीहरू बताउँछन् । यी होटल डिस्को क्लव जस्तो पनि अनुभूति हुन्छ कहिलेकाही त ।अहिले यो गोरखकाली चौकीमा सई हरेन्द्र साह प्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस्