Logo
Logo

नाउपा छाडेका धनिराम र लेखजंग बने उम्मेदवार 


6k
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर अन्य दलमा प्रवेश गरेका दुई व्यक्तित्वलाई प्रमुख दलबाट उम्मेदवारीको अवसर प्राप्त भएको छ ।

जनमत पार्टीले धनिराम चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । यी दुवै नेताले नाउपा त्यागेर नयाँ दल रोजेका हुन्, र दुवैलाई उपनिर्वाचनमा ठूलो अवसर प्राप्त भएको छ ।

रुपन्देहीको सियारी गाउँपालिका-२ निवासी धनिराम चौधरीले केही दिनअघि मात्र नाउपाबाट जनमत पार्टीमा प्रवेश गरेका थिए । जनमतका राष्ट्रिय सचिव भोपेन्द्र यादवले चौधरीलाई उम्मेदवार बनाउने सर्तमै पार्टीमा स्वागत गरेका थिए ।

२०७९ को निर्वाचनमा चौधरी नाउपाबाट रुपन्देही क्षेत्र नम्बर-१ मा उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरेका थिए । नाउपाभित्र रेशम चौधरी र रन्जिता श्रेष्ठ पक्षबीचको विवाद चर्किएपछि उनले जनमतमा अवसर खोजे । नाउपाले उनलाई उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको सूचीमा राखे पनि अन्ततः उनले पार्टी परिवर्तन गरे । 

थापाको रास्वपा अवसर

भैरहवाको सिद्धार्थनगर-९, अञ्चलपुरका डा. लेखजंग थापा पनि नाउपा छाडेर रास्वपामा प्रवेश गरेका पात्र हुन् । वरिष्ठ न्युरोलोजिस्ट र समाजसेवीका रूपमा परिचित थापाले २०७९ को निर्वाचनमा नाउपाबाट लुम्बिनी प्रदेशको समानुपातिक सूचीमा स्थान बनाएका थिए । तर, नाउपाको भविष्य अनिश्चित देखेपछि उनले रास्वपाको ढोका ढकढक्याए।

रास्वपाले नौ जना आकांक्षीमध्येबाट उनलाई रुपन्देही-३ को उम्मेदवार बनायो । यद्यपि, थापा बहुविवाहको आरोपमा विवादमा तानिएका छन्, जसको रास्वपाले बचाउ गरेको छ ।

उपनिर्वाचनको रौनक

रुपन्देही-३ को उपनिर्वाचनमा अन्य दलले पनि उम्मेदवार तय वा सिफारिस गरिसकेका छन् । राष्ट्रिय जनमोर्चाले बद्रे आलम, नेकपा एमालेले खिमलाल भट्टराईसहित पाँचजना, माओवादी केन्द्रले सोनिया यादवसहित चारजना, राप्रपाले स्वाती थापासहित छजना र नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भूसालसहित सातजनाको नाम सिफारिस गरेका छन् ।

नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाउन बाँकी छ, तर बालकृष्ण खाँण, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाललगायतको नाम चर्चामा छ । स्वतन्त्र उम्मेदवारमा लेखनाथ गैरे, अजयकुमार गुप्ता र किरण विकले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरी पनि उम्मेदवारीको दौडमा छन् ।

निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ता, असोज २२ गते उजुरी दर्ता र असोज २३ गते उजुरीमाथि छानबिन र निर्णय गर्ने कार्यतालिका तय गरेको छ । नाउपा छाडेर नयाँ दलमा प्रवेश गरेका धनिराम र डा। थापालाई प्राप्त अवसरले उपनिर्वाचनमा थप रोमाञ्चकता थपेको छ । 

प्रतिक्रिया दिनुहोस्