काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई ज्यान मार्ने धम्की दिने बाराकी किरण साहप्रति कुनै पूर्वाग्रह नराखेको बताएका छन् । पर्सा प्रहरीको हिरासतमा रहेकी साहप्रति नरम व्यवहार गर्न र उनको पक्राउलाई आफूसँग नजोड्न मन्त्रीले अनुरोध गरेका छन् ।

फेसबुक स्टाटसमा मन्त्री यादवले लेखेका छन्, ‘प्रश्न गर्नु गलत होइन, तर हिंसात्मक भावना व्यक्त गर्नुले यो स्थिति निम्तिएको हो । साहलाई प्रहरी हिरासतसँग मलाई नजोड्नुहोला ।’
वीरगञ्जमा हैजा फैलिएपछि साहले मन्त्रीलाई फोन गरी आक्रोश व्यक्त गर्दै धम्की दिएकी थिइन्, जसको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । शनिवार पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मन्त्रीले प्रहरीलाई साहप्रति नरम हुन आग्रह गर्दै भने, ‘उनलाई सच्चिन र लोकतान्त्रिक अधिकार प्रयोग गर्न मेरो सहयोग रहन्छ ।’ साहलाई कसैको उक्साहटमा परेको हुन सक्ने भन्दै उनले प्रहरी अनुसन्धानमा विश्वास व्यक्त गरे । लोकतन्त्रमा गुनासो राख्ने छुट भए पनि अराजकता स्वीकार्य नभएको उनको भनाइ छ ।
मन्त्री यादवको फेसबुक स्टाटस–
वीरगञ्ज मेरो जन्मथलो त हुँदै हो, यसका साथै राजनीतिक संघर्ष तथा स्वीकृतिको भूमि हो । पछिल्ला दिनहरूमा यहाँ पहिला खानेपानीको संकट देखा पर्यो । यसको तत्कालीक र दीर्घकालीक समाधानका लागि म संघीय खानेपानी मन्त्रीका रूपमा स्थानीय वीरगञ्ज महानगरपालिकासँग सामन्जस्य स्थापित गरी युद्धस्तरमा सक्रिय भएँ । खानेपानी समस्या मधेश प्रदेशमा सघन देखिएको हुनाले प्रदेश सरकारसँग समेत समन्वय गर्न साथै यसको दीर्घकालीन समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सल्लाह र सहयोग लिएँ ।
खानेपानीको संकट न्यूनीकरणको प्रक्रिया अगाडि बढ्दै थियो कि वीरगञ्जमा झाडा पखाला र हैजाका विरामीहरू देखिन थाले । म स्वयं जनताबीच पटक–पटक गई तिनका समस्या सुन्ने, असन्तुष्टि बुझ्ने र आम नागरिकका अप्ठ्याराहरूलाई व्यवस्थापन गर्न दिन–रात लागि परें । यसका लागि सम्माननीय प्रधानमन्त्रीसमक्ष भुइँ तहको सूचना साझेदारी, सम्बन्धित संघीय स्वास्थ्य मन्त्री तथा मन्त्रालयसँग समन्वय, तथा स्थानीय सरोकारवाला पक्षबीच समन्वयका काम गर्दै रहें ।
जनताका बीच संघर्ष गर्ने व्यक्ति भएको हुनाले जनताको पीरमर्का बुझ्ने, गुनासाहरूको व्यवस्थापन गर्नु म आफ्नो धर्म ठान्दछु । जनताले सरकारसँग प्रश्न गर्न पाउन् भन्ने मेरो राजनीतिक संघर्षको ध्येय रहीआएको छ ।
मेरो मोबाइल नम्बरमा आएको फोन कललाई सकेसम्म म उठाउने गर्दछु । सेभ नरहेका नम्बरबाट आएको कल समेत उठाउने मेरो बानी छ । कुनै प्राविधिक तथा अफिसियल कारणबस फोन उठाउन नसकेको अवस्थामा पछि कलब्याक समेत गर्ने गरेको छु ।
गत साता मेरो नम्बरमा एक अज्ञात महिलाको फोन आयो, जसमा उनी निकै आक्रोशित रूपमा प्रस्तुत भइन् । मलाई लाग्यो उनकै कथनानुसार कोही आफन्त विरामी भएको भएर पीडा पोखिएको होला । तर उनले गुहार लगाउनुभन्दा ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले मैले त्यो नम्बर सहितको सूचना पर्सा प्रहरीलाई दिए ।
यसका साथै वीरगञ्जका नगर प्रमुख राजेशमान सिंह जी र पर्सा जनस्वास्थ्य कार्यालयका प्रमुखलाई नोट गराए । र यो पनि आग्रह गरें, यदि ती फोनकर्ताको कोही आफन्त गम्भीर विरामी छ भने त्यसमा सक्दो सहयोग पुर्याउने ।
पछि अस्पतालमा पता लगाउँदै जाँदा थाहा पाइयो वीरगञ्जको कुनै अस्पतालमा उनको परिवारका कोही सदस्य भर्ती थिएन ।
यसैबीच ती महिलाले मलाई दिइएको हत्यावाला अडियो आफैं इडिट गराई सार्वजनिक गराइन् र गरिन् । र फेरि संयोगले असली अडियो पनि बाहिर आएर आफैं सत्यतथ्य छर्लङ्ग भयो ।
पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूप उनीप्रति कुनै पूर्वाग्रह छैन ।
एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो । ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङग गर्नेको मनसाय के थियो त्यसको छानविन प्रहरीले गर्छ नै ।
कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो । फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालय मार्फत प्रहरी समक्ष खबर पुर्याएको छु ।
समस्या प्रश्न गर्नुमा कदापि होइन । हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला ।
कानुनभन्दा माथि कोही हुन सक्दैन र हुँदैन । हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ । उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ आशा छ फैसला राम्रो आउने छ ।
म फेरि भन्छु– लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट छ तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन ।














