काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको छ । बुधवार राति कपनस्थित घर नजिकै भएको आक्रमणमा उनको टाउकोमा गहिरो चोट लागेको रास्वपाले जनाएको छ ।

भण्डारीको टाउकोमा १० वटा टाँका लगाइएको छ र सिटी स्क्यानको नतिजा सामान्य आएको छ । उनलाई थप फलोअपका लागि आज बोलाइएको छ । बुधवार राति करिब ८ बजे कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्कने क्रममा मोटरसाइकलमा आएका तीन जनाले भण्डारीमाथि आक्रमण गरेका थिए ।
एक जनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए । भागेर घरभित्र पसेपछि उनले ज्यान जोगाएका थिए भने आक्रमणकारीहरू भागेका थिए ।
उनलाई तत्काल चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । आक्रमणकारीको पहिचान खुल्न बाँकी छ । रास्वपाले घटनाबारे प्रहरीमा जानकारी गराएको छ, र बौद्ध प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।














