रुपन्देही । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले संगठनलाई चुस्त दुरुस्त बनाउने, सीमामा हुने असुली र तस्करी नियन्त्रण गर्ने दाबी गर्दै आएका छन् । व्यवहारमा पनि उनी कडाइका साथ प्रस्तुत हुँदै आएका छन् । तर, संगठनभित्रका केही कर्मचारी भने कमाई धन्दामा लिप्त देखिन्छन् ।

त्यस्ता एक उदाहरण हुन् – सशस्त्र प्रहरी बल नं. २७ गण, भैरहवामा कार्यरत वरिष्ठ हवलदार नन्दराज जोशी । जोशीको दरबन्दी पश्चिम नवलपरासीस्थित नं. २६ गण हेडक्वार्टरमा भए पनि उनी विगत १० वर्षदेखि रुपन्देहीमै कार्यरत छन् ।
संगठनको नीति अनुसार नियमित सरुवा हुनुपर्ने र एउटै ठाउँमा लामो समय नबस्नुपर्ने व्यवस्था भए पनि उनी त्यसको उल्लंघन गर्दै आएका छन् । बीचमा दरबन्दी क्षेत्र परासी फर्किए पनि उनी तुरुन्तै फेरि रुपन्देही फर्केका थिए । स्रोतका अनुसार यति लामो समयसम्म रुपन्देहीमा कार्यरत रहेका सम्भवतः उनी एक्ला कर्मचारी हुन्।
उपरीक्षक (एसपी) स्तरबाट पनि उनी अन्य बेसमा ड्युटीमा खटिएको कागज बनाइएर देखाइएको भए तापनि, उनी २७ नं. गणबाहेक अन्यत्र कहिल्यै ड्युटीमा देखिएका छैनन्।
सुन र हुण्डी तस्करसँगको साठगाँठ
साइकल, मोटरसाइकल वा झोलेपोकेहरूसँगको सामान्य असुलीभन्दा अगाडि बढ्दै जोशीको सम्बन्ध सुन तस्कर र हुण्डी कारोबारीहरूसँग समेत रहेको स्रोत बताउँछ ।
भैरहवाका क्यासिनो, स्पा, तथा भारतको सुनौली र गोरखपुरमा उनको नियमित आउजाउ हुन्छ । सीमापार भारतका सुन तस्कर र हुण्डी कारोबारीसँग भेटघाट त्यहीँ हुने गरेको बताइन्छ ।
स्रोतका अनुसार, सीमामा तस्करहरूको आवागमन सहज बनाउन उनले ‘सेटिङ’ मिलाउने काम गर्छन् र त्यसको बदलामा मोटी रकम असुली गर्छन् ।
भारतबाट आउने पाहुनाहरूलाई नेपाली क्यासिनोसम्म पुर्याउन सहज बनाउने काममा संलग्न जोशीले क्यासिनोहरूबाट पनि रकम उठाउने गरेका छन् । एक क्यासिनो सञ्चालकका अनुसार उनले “आईजीसम्म पुर्याउनु पर्ने” भन्दै असुली गर्ने गर्दछन्।
त्यस्तै, पर्यटन विभागदेखि अन्य नियामक निकायसम्म सेटिङ मिलाइदिने दाबी गर्दै उनी खुलेरै रकम उठाउने गरेका छन् ।जोशीको पछिल्लो समयको बिलासी जीवनशैली र लगानीले पनि धेरै कुरा पुष्टि गर्छ ।
उनले आफ्नै भाइको नामबाट ‘रोयल स्पा’ सञ्चालन गरिरहेका छन् भने भैरहवामा हालै उनले ‘मेरीगोण्डा होटल एण्ड स्पा’मा पनि लगानी गरेको स्रोत बताउँछ।
उच्च तहसम्मको पहुँचको दाबी
सशस्त्र प्रहरी बल २७ नं. गणका एसपी मेखराज जोशीलाई ‘दाइ’ भनी सम्बोधन गर्ने जोशीले संगठनमा आफू उच्च तहसम्म नजिक रहेको दाबी गर्दै आइरहेका छन् ।
एसपीभन्दा मुनिको दर्जालाई नछोइने व्यवहार गर्ने उनी, स्थानीय बजार र क्यासिनोमा “सबै सेटिङ म मिलाउँछु” भन्ने धाक देखाउने गरेका छन् ।
संगठन सुधारको कुरा एकातिर तर निच तहका कर्मचारीहरूमै यस्तो गतिविधि बढ्दै गएको देखिनु चिन्ताको विषय हो । प्रहरी संगठनको विश्वसनीयता जोगाइराख्न यस्ता घटनाको छानबिन र कारबाही आवश्यक देखिन्छ।
प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ ।- सम्पादक
श्रीमान अध्यक्षज्यू,
दृष्टि मिडिया प्रा.लि.
काठमाडौं ।
विषयः “हवल्दारको असुली धन्दाः जागिर सशस्त्रमा, ड्युटी स्पा र क्यासिनोमा” भन्ने समाचार सच्याइ पाऊँ भन्नेबारे
म नन्दराज जोशी, सशस्त्र प्रहरी हवल्दार, हाल आफ्नो नियमित ड्युटीमा कार्यरत रहेको व्यक्ति हुँ । हाल केही अनलाइन माध्यममा प्रकाशित “हवल्दारको असुली धन्दाः जागिर सशस्त्रमा, ड्युटी स्पा र क्यासिनोमा” शीर्षकको समाचार पूर्णतः आधारहीन, तथ्यविहीन र चरित्रहत्या गर्ने उद्देश्यले लेखिएको हुँदा यसप्रति गम्भीर आपत्ति जनाउँछु।
खण्डनका आधारहरू
१. दरबन्दी र सरुवा सम्बन्धी आरोपः कुनै पनि कर्मचारीको सरुवा वा दरबन्दी संगठनको प्रशासनिक निर्णयमा आधारित हुन्छ । यसलाई व्यक्तिगत पहुँच वा साठगाँठसँग जोड्नु पूर्ण रूपमा निराधार छ।
२. तस्करी र हुण्डीमा संलग्न भएको दाबीः समाचारमा यस्ता गम्भीर आरोप लगाइए तापनि कुनै प्रमाण, दस्तावेज वा आधिकारिक निकायको अभिलेख प्रस्तुत गरिएको छैन । यसप्रकारका आधारहीन दाबी पूर्ण अस्वीकार्य छन् ।
३. क्यासिनो वा स्पासँग संलग्न भएको कुराः मेरो नाममा कुनै स्पा, होटल वा क्यासिनो दर्ता वा सञ्चालनमा छैन । कानुनअनुसार दर्ता भई सञ्चालनमा रहेका व्यवसायलाई गैरकानुनी गतिविधिसँग जोडेर प्रस्तुत गरिएको दाबी भ्रामक, पूर्वाग्रही र तथ्यविहीन हो।
४. उच्च तहसम्म पहुँच भएको भनी दाबीः कुनै व्यक्तिले गरेको व्यक्तिगत दाबीलाई तथ्य जस्तै प्रस्तुत गर्नु पत्रकारिताको आचारसंहिताविपरीत कार्य हो ।
निष्कर्ष
उक्त समाचारमा प्रमाण, आधिकारिक स्रोत वा निष्पक्ष प्रस्तुतिको अभाव छ। यसलाई भ्रामक र गलत उद्देश्यले तयार गरिएको विवरण मानिन्छ।यसप्रकारका समाचारहरूले संगठन र मेरो व्यक्तिगत इमेजमाथि अनावश्यक प्रहार गरेको हुँदा तुरुन्त सच्याउन, हटाउन र पुनः यस्ता गतिविधि नगर्न तपाईंको प्रतिष्ठित सञ्चार माध्यमलाई अनुरोध गर्दछु।











