काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबार (आज)बाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।

एमालेले २०७८ सालदेखि नीति र नेतृत्व महाधिवेशन अलगअलग गर्ने अभ्यास सुरू गरेको हो । यो विधान महाधिवेशनले आगामी ११ औं महाधिवेशनका लागि नीति र विधानको तर्जुमा गर्नेछ ।
शुक्रबार बिहान ११ बजे विधान महाधिवेशनको उद्घाटन हुनेछ । उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र आरम्भ हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार शुक्रबारै दस्तावेजहरू प्रस्तुत हुनेछन् ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।
यस्तै, शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभक्त गरेर दस्तावेजमाथि छलफल गराइनेछ । आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्नेछन् । त्यसमाथि नेतृत्वले जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरू हुनेछ ।
विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्ने एमालेमा परम्परा छ। आगामी महाधिवेशनको नेतृत्व चयन त्यसैले गर्नेछ । निर्वाचन आयोगका पदाधिकारी र सदस्य निर्वाचित गरेपछि समसामयिक प्रस्तावसहित विधान महाधिवेशन सकिनेछ ।
यो विधान महाधिवेशनमा कुल २३४१ सहभागी छन् । जसमध्ये २०२६ जना प्रतिनिधि हुन् भने ३१५ जना आयोजकको हैसियतमा सहभागी हुनेछन् । यस महाधिवेशनलाई एमालेले उच्च प्रविधियुक्त बनाएको छ ।
प्रतिनिधिहरूलाई डिजिटल कार्डको प्रबन्ध गरिएको छ । यसपटक प्रतिनिधिहरूलाई आवासको सुविधा दिइएको छैन । महाधिवेशनस्थलसम्म पुग्नका लागि सवारी साधनको प्रबन्ध भने गरिएको एमालेले जनाएको छ ।














