Logo
Logo

यसरी हुनेछ एमालेको विधान महाधिवेशन उद्घाटन


819
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को दोस्रो विधान महाअधिवेशन आजबाट हुँदैछ । शुक्रबार (आज) बिहान ११ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान महाअधिवेशनको उद्घाटन गर्दैछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी रहने छन् ।

यस पटकको विधान महाधिवेशनको उद्घाटन परम्परागतरूपमा नहुने एमालेले जनाएको छ । उद्घाटन समारोह जम्मा १२ मिनेटको हुनेछ । उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ ।

उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारले आर्ट बनाउने छन् भने जसको लाइभ हलभित्र गरिने छ ।

विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार सभा हलको सीट संख्या २८ सय ४० रहेको छ ।
महाधिवेशन हलभित्र छिर्ने ४ वटा प्रवेशद्वार बनाइएको छ । पहिलो द्वारबाट अध्यक्ष ओली मात्रै प्रवेश गर्नेछन् भने अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधि प्रवेश गर्नेछन् ।

परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् । अन्तिम प्रवेशद्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीका लागि खुला गरिएको एमालेले जनाएको छ ।
यस्तै, दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्नासाथ ओलीको पूर्ण कदको तस्बिर र विधान महाधिवेशनको लोगो राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ ।

सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । मञ्चमा १८ जना पदाधिकारीमात्रै बस्ने व्यवस्था गरिएको छ भन मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नेछन् भने अन्य पदाधिकारी पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्