काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरू कुहिरोका कागजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रवार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टी बचाउन कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

ओलीले बाइबलको कथा सुनाउँदै २०७८ सालमा दोस्रो पटक नेताहरूले पार्टी बिभाजन गरेर चोट लगाएपनि कार्यकर्ताको अडान र विश्वासका कारण पार्टीमा ठुलो क्षति हुन नपाएको स्मरण गरे । एमाले निर्माणमा लागेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम अहिले उक्त पार्टीमा छैनन् । नेपाल र खनालले उनै ओलीसँग विद्रोह गरेर २०७८ सालमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।
‘२०७८ सालमा पार्टीमा केही चोट लाग्यो, लगाए । मुर्धन्य नेताहरू कुहिरोका काग भए, तर कार्यकर्ता बहकिएनन् र पार्टी जोगाए,’ ओलीले भने, ‘यसले यो पार्टी र पार्टीको नेतृत्वप्रतिको विश्वास छ भन्ने देखाउँछ ।’
उनले कार्यकर्ताले देखाएको विश्वासप्रति आफू ढुक्क रहेको पनि बताए । ‘म ढुक्क छु, आन्दोलन हाँक्न सकिन्छ । मलाई केही भएपनि यो पार्टी केही हुँदैन,’ ओलीले नेता कार्यकर्तालाई ढाडस दिँदै भने, ‘नेता कार्यकर्ताको समर्पण, निष्ठा र योगदान उदाहरणीय छ ।’ पार्टीलाई विभाजनबाट बचाउन, सुदृढ गर्न र भविष्यमा अग्रसर बनाउन विशेषगरी महिला कार्यकर्ताहरूको योगदानलाई उल्लेखनीय रहेको ओलीको भनाइ छ ।
‘महिला दिदीबहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल बनेको छ,’ ओलीले भने, ‘आन्तरिक एकतासँगै वैचारिक स्पष्टता र अनुशासन पार्टीको मूल आधार हो ।’ ओलीले कम्युनिस्ट धारको हिसाबले एमाले जेठो र पुरानो धार भन्दै ९३ वर्षदेखि अघि बढेको यो पार्टी जनताका बिचमा आशाको केन्द्र बनेको दाबी गरे ।














