सबै मानिसका आ–आफ्नै इच्छा हुन्छन् । अन्ततः त्यही इच्छा र रहरले व्यस्त बनाइदिएको हुन्छ । यस्तै, हिजोआज पूजा दुवालको दिनचर्या क्यानभाससँग बितिरहेको छ । चित्र कोर्नु पूजाको बाल्यकालदेखिकै सौख र इच्छा हो । सौखलाई पेशामा परिणत गरेकी पूजा व्यावसायिक चित्रकार बनेकी छिन् ।

उनी भन्छिन्, ‘रहरलाई पनि पेशा बनाइयो भने कर्मसँग जोड्न सकिने रहेछ ।’ चित्र कोर्नु रहर भएपनि अहिले पूजाको दैनिकी बनेको छ । पूजा भन्छिन्, ‘क्यानभासमा रंग र ब्रससँग रमाउनु मेरो लागि दैनिक नै बनेको छ । मलाई यसैमा रमाइलो लागिरहेको छ ।’ चित्र कोरेरै चर्चा बटुलिरहेकी पूजाले आफ्ना दजनौँ चित्रहरू प्रदर्शनमा गरिसकेकी छिन् । फाईनआर्टमा स्नातक गरेकी चित्रकार पूजा दुवालसँग रेजिना पाण्डेको जम्काभेट :
चित्र कोर्न कहिलेदेखि सुरु गर्नुभयो ?
म बाल्यकालदेखि नै चित्र बनाउँथे । चित्र कोर्नु मेरो रहर थियो । त्यही रहर र रुचिले गर्दा धेरै चित्रकारको पेन्टिङहरू हेर्थे । चित्र हेर्दा मलाई रमाइलो लाग्थ्यो । उमेर बढ्दै जाँदा पनि रुचि चित्रकारितामै भएकाले त्यसैलाई फोकस गर्न थालेँ । त्यसपछि फाइन आर्टमा स्नातक गरँे । हाल मास्टर गर्ने तयारी गर्दैछु ।
क्यानभाषमा ब्रस र रगंहरूसँग खेलिरहँदा कस्तो अनुभव हुन्छ ?
रमाइलो लाग्छ । साँच्चै भन्ने हो भने, म दैनिक आफ्नै स्टुडियोमा चित्रहरूसँगै रमाइरहेकी हुन्छु । अरुको चित्र हेर्नु, नयाँनयाँ चित्रहरू बनाउनु मेरो सौख मात्र नभएर कर्म पनि हो । चित्रमा म कर्म गरिरहेकी छु ।
प्रायः कस्तो चित्र बनाउनुहुन्छ ?
समाजकै गतिविधि झल्काउने, मौलिक समाजको भूगोल, मान्छेको क्रियाकलापहरूबारे म चित्र बनाउछु । म भक्तपुरको लोकल बासिन्दा हुँ । त्यसैले भक्तपुरको मौलिकता एवं गतिविधिहरू यहाँको रहनसहन, जात्रा, मेला र किसानका गतिविधिहरू पेन्टिङमा उत्तार्ने गरेकी छु । मलाई जीवनका वास्तविक कथा बोकेको चित्र कोर्न मन लाग्छ । जुन चित्रले समाज बोलोस््, इतिहास देखाओस् ।
बाल्यकालमा बनाएको कुनै चित्र याद छ ?
धेरै छन् त्यस्ता चित्रहरू । पहिले पेन्सिलले चित्रहरू बनाउँथे । हाम्रै वरपरका प्रकृतिहरू, समाजका क्रियाकलापहरू चित्रमा उतार्थे । मलाई कुनै बिषय्बस्तुले मन छोयो भने चित्र कोरिहाल्छु । सबै चित्रहरू यादगार नै हुन्छन । अहिलेचाहिँ ब्रस र रगंहरूबाट चित्र बनाउँछु ।
तपाईँ कुन रंग प्रयोग गरेर चित्र बनाउनुहुन्छ ? तपाईँका चित्रहरू कति महँगा छन् ?
अहिले म बढीजसो तेल रंग प्रयोग गर्छु । रंग पनि हेरेर हुन्छ । तर अहिले अधिकांश रंगहरू महँगो छ । तैपनि म्यानेज भइरहेको छ । मलाई चाहिने रंगहरू काठमाडौंमै पाइन्छन् ।
क्यानभाषमा चित्रसँग रमाइरहँदा परिवारले के भन्नुहुन्छ ?
सुरु सुरुमा के चित्र बनाएर बसेको ? के बिषय पढेको ? अरु बिषय पढेर जागिर खाएको भए राम्रो हुन्थ्यो भन्नुहुन्थ्यो । बाबाआमाले त यो के काम हो भन्दै धेरै सम्झाउनुहुन्थ्यो । यो क्षेत्रमा मेरो परिवारका नातागोता र आफन्त कोही नभएर होला, छोरीले के गरी भन्ने परिवारलाई लाग्थ्यो । तैपनि मैले यही बिषयमा पढेर काम गर्न थालेँ । विस्तारै परिवारले पनि बुझ्दै जानुभयो । अहिले सबैको साथ मिलेको छ ।
यो क्षेत्रमा लागेर पाछुतो छ कि छैन ?
छैन । किनभने, चित्रकारिता मेरो रुचिको विषय हो । चाहेको बिषयमै अध्ययन पनि गरेँ । अहिले यही क्षेत्रबाट नाम र दाम कमाइरहेकी छु । अहिले मेरो बहिनीले पनि मलाई फलो गदैै छिन् ।
नेपालमा चित्र र चित्रकारको अवस्था कस्तो छ ?
विस्तारै राम्रो हुँदैछ । चित्रकारिताप्रति रुचि राख्नेहरू बढिरहेका छन् । यो कलाले पनि जीवन धान्न सकिन्छ है भनेर यसैलाई कर्मथलो बनाउनेहरूको संख्या धेरै छ । आर्टस् कलेजहरू पनि धेरै खुलेका छन् । जति पनि चित्रकारहरू हुनुहुन्छ, सबैले अवसर पाइरहनुभएको छ । कतिले त विदेशमा पनि आफ्नो कला देखाउने अवसर पाइराखेका छन् ।
चित्रकारितामार्फत तपाईँले विदेशमा जाने अवसर पाउनुभएको छ कि छैन ?
खासै छैन । भारत पुग्ने अवसर भने पाएकी थिएँ । भारतमा फोटो प्रदर्शनीका लागि गएको थिएँ । भारतकै जयपुरमा वर्कसपका लागि पुगेको छु । त्यहाँ धेरै देशका कलाकारलाई भेट्ने र सिक्ने अवसर प्राप्त भएको थियो । त्यहाँ मैले कलासम्बन्धि धेरै ज्ञान पाएँ । त्यो मेरो लागि ठूलो अवसर थियो । अबका दिनमा पनि यस्तै अवसरको प्रतिक्षामा छु ।
अबका दिनमा चित्रकला सौखमात्र हो कि यसैलाई पेशा बनाउने योजना छ ?
अहिले त दुवै भएको छ । मैले रहरले यही बिषय लिएर पढेँ । यसै क्षेत्रमा काम गरिरहेकी छु । राम्रै पनि भइरहेको छ । आर्टस् ग्यालरीमा फोटो राख्ने मौका पाएको छु । समग्रमा भन्नुपर्दा अहिले चित्र सौख पनि र पेशा पनि भइरहेको छ ।
तपाईँले बनाउनुभएको चित्रहरू कतिसम्ममा बिक्री भएको छ ?
चित्रको साइज र बनाउदा लाग्ने समय हेरेर हुन्छ । आठ हजार रुपैयाँदेखि एकलाखसम्ममा मेरो चित्रहरू बिकेका छन् । मेरो पहिलो चित्र सानो थियो, एक लाखमा बिक्री भएको थियो । त्यो चित्र तीन फिट लम्बाई र चार फिट चौडाई थियो ।
एक लाखको चित्र कसले किनेको थियो ?
प्रदर्शनीमा राखेको थिएँ । जहाँ धेरै कलाकारहरूको चित्रहरु राखिएका थिए । धेरै कलाकारको चित्र बिक्री भएको थियो । जसमा मेरो पनि बिक्यो ।
हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । आर्टस् काउन्सिलमा चित्रकला प्रदर्शनीहरू भइरहन्छन् । झन् अहिले दशैँको माहोल आउन लागेको छ । कामहरू आइरहेको छ ।
भविष्यको योजना के बनाउनु भएको छ ?
आफ्नै आर्ट ग्यालरी खोल्ने र राम्रा–राम्रा चित्र बनाउने योजना छ । सकभर सबै खालको चित्र बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।











