काठमाडौं । ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा शनिबार बिहान गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारी भएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए । त्यसलगत्तै मन्त्री राना ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए ।
मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएको एसएसपी अधिकारीले बताए । साथै, थप उपचार गर्नुपर्ने भएमा त्यसका लागि आफू नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेका छन् । सहमति भएसँगै चालक चौधरीलाई प्रहरीले घर फर्किन दिएको अधिकारीले बताए ।














