काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले कतिपय नेता कार्यकर्ताको जीवनशैलीप्रति प्रश्न उठाएको छ ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले दोस्रो विधान महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा ‘व्यक्तिगत लाभ र अवसरको आशक्ति’ राजनीतिक क्षेत्रमा समस्याका रूपमा देखिएको उल्लेख गरेका छन् । जुन प्रवृत्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितविपरीत भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रवृत्तिले अन्ततः राज्य, समाज र पार्टीलाई नकारात्मक असर गर्ने गरेको पनि आयोगले जनाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘यस्तो अनुचित आशक्तिको कारणले सार्वजनिक क्षेत्रमा रहेका नेताहरूप्रति आम जनतामा नकारात्मक धारणा बनिरहेको छ । यसले गर्दा नेताहरूको सार्वजनिक जीवन विवादित बनिरहेको अवस्था छ ।’
साथै, आयोगको प्रतिवेदनले कतिपय नेताहरू खर्चालु भएको बताएको छ । ‘सार्वजनिक जीवनका आकर्षण (ग्ल्यामर)ले कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था रहेको छ’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा विचार र आचरणमा समस्या, पार्टी जीवनमा सांगठानिक अराजकता चुनौतीका रूपमा रहेको पनि उल्लेख छ । आयोगले कतिपय नेताहरूका आफ्ना निहित स्वार्थहरू पूरा नहुँदा तिनीहरू कुण्ठाका रूपमा रहने गरेको उल्लेख गरेको छ । ‘यो प्रवृत्ति कुण्ठाको सुसुप्तरूप हो । संकिर्ण र कमजोर चेतना हो । यो नैतिक सोँच होइन’ प्रतिवेदनमा भनिएको छ । जसमा यौनजन्य आचरणबारे पनि प्रश्न उठाइएको छ ।
‘पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरूसमेत कतै कतै देखिन थालेका छन् । जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणलाई सच्याउनुको सट्टा उनीहरूबाट सार्वजनिक रूपमा दम्भ प्रकट भइरहनु दुःखद कुरा हो’ प्रतिवेदनमा भनिएको छ ।
आयोगले उठाएको पाँचौं विषय सांगठानिक अराजकताबारे छ । आयोगले सांगठानिक अराजकता पार्टी जीवनको चुनौतीका रूपमा रहेको उल्लेख छ ।
‘कतिपय नेताहरूबीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ । कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समेत देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधिहरूले सम्बन्धित पार्टी कमिटीसाग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था छ’ प्रतिवेदनमा भनिएको छ ।














