काठमाडौं । विशेष अदालतले सफाइ दिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा चित्त नबुझेको भन्दै पुनरावलोकनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । अख्तियार दुरुपयोग आयोगले विशेष अदालतको फैसला चित्त बुझ्दो नआएपछि सर्वोच्चमा पुनरावलोकन दिएको हो ।

अख्तियारले कालिकोट पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मासहित ८ जनाविरुद्ध ओहोदाको दुरुपयोग गरी नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
कालिकोट साबिक थिर्पु गाउँपालिकाको वडा नं.५ र ६ हाल पलाँता गाउँपालिका वडा नं.८ स्थितमा थोपा सिँचाई आयोजना निर्माण गर्दा भए गरेको कार्य भन्दा बढी रकम भुक्तानी गरी सरकारी रकम हानी नोक्सानी गरेको अख्तियारको दाबी थियो ।
तर उक्त मुद्दामा २०८१ साल पुस ३ गते विशेष अदालतले ओहोदाको दुरुपयोग गरी नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याएको अवस्था नदेखिएको भन्दै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुस्मासहित ८ जनालाई सफाइ दिने फैसला गरेको थियो ।
उक्त फैसला ऋुटिपूर्ण रहेकाले उक्त फैसला बदर गरी निज प्रतिवादीहरू कुस्मासहित माधव कुमार भट्ट,दाना न्यौपाने,पटकबहादुर बस,जानकी कुमारी शाही,मनराज शाही,लोकेन्द्र बम र मोतिपुरा रोकायालाई आरोप मागदावी बमोजिम सजाय हुनुपर्ने माग अख्तियारको माग छ ।














