काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले आम जनमानसको मनोभावना नबुझेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल रमाइलो मात्र नभई जीवनसँग जोडिएको समेत बताए । उनले भने, ‘सामाजिक सञ्जाल मनोरञ्जनको कुरा मात्र होइन,यससँग आर्थिक पाटो पनि जोडिएको छ । धेरै मानिसहरूले यसबाट रोजगारी सिर्जना गरिरहनुभएको छ । आम्दानी गरिराख्नुभएको छ । आज ती सबै बन्द भएको छ ।’
उनले सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा भने आउनै पर्ने बताए । उनले सामाजिक सञ्जालहरू करको दायरामा ल्याइनैपर्ने समेत बताए । सरकारले सामाजिक सञ्जाल बन्द गरेर नभई अर्को विकल्प अपनाएर दर्ता प्रक्रियामा ल्याउनुपर्नेमा त्यसो नगरिएको बताए । ‘सकारात्मक बाटोबाट विभिन्न डाइलगहरू गरेर सरकार अघि बढ्नुपर्थ्यो ,त्यसो गरिएन,’उनले भने ।














