काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकामध्ये ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको छ।
यसअघि ट्रमा सेन्टरमै चार जनाको मृत्यु भइसकेको थियो भने सिभिल अस्पतालमा एक जनाको निधन भएको थियो । त्यसैगरी केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि एक–एक जनाको मृत्यु भइसकेको छ।

हाल ट्रमा सेन्टरमा १९ जना घाइते उपचाररत छन् । ट्रमा सेन्टरका अनुसार घाइतेमध्ये बर्दियाका २३ वर्षीय निकेश रिजाल, जुम्लाका २६ वर्षीय हरि अधिकारी, काठमाडौंका २१ वर्षीय पवन खड्का, सिन्धुपाल्चोकका सूर्य राई, धनगढीका १९ वर्षीय सौरभ कठायत, जुम्लाका १७ वर्षीय हरी अधिकारी, नवलपरासीका २७ वर्षीय सन्देश प्रधान, इटहरीका १९ वर्षीय आशुतोष बस्नेत, भोजपुरका २० वर्षीय सौरभ गौतम र गोरखाका १८ वर्षीय रोशन रेग्मी रहेका छन् ।
त्यस्तै, भक्तपुरका २७ वर्षीय रूपेश रेग्मी, जाजरकोटका १७ वर्षीय हरीबहादुर शाही, दोलखाका प्रहरी हवल्दार कुमार लामा, दैलेखका २६ वर्षीय प्रकाश बोहोरा, काठमाडौंका ५२ वर्षीय हरिहर सिलवाल, पर्साका ३० वर्षीय नेक्र विक्रम थापा, उदयपुरका २६ वर्षीय दिलीपकुमार भुजेल, सिन्धुलीका २२ वर्षीय नविन तामाङ, र सिन्धुपाल्चोकका २५ वर्षीय मदन कार्की पनि उपचाररत छन् ।
जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वर क्षेत्र अत्यन्तै तनावग्रस्त बनेको छ । नजिकै रहेको निजामती कर्मचारी (सिभिल) अस्पताल घाइतेहरूले भरिएको छ ।
हाल अस्पतालमा ५० भन्दा बढी घाइतेहरू उपचाररत छन् र घाइते थपिने क्रम जारी छ ।














