काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा प्रदर्शनकारीलाई पछाडि हटाउन असङ्ख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको र बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता नभई कायरता भएको बताएकी छिन् ।
‘कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो’, गौतमले भनिन्, ‘यो हत्या हो ।’
यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति भएको गौतमले बताएकी छिन् । ‘जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो’, गौतमले भनेकी छिन् ।
‘अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ । यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो । यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतङ्कवादी मानसिकताको सरकार हो ।’, उनले भनेकी छिन् ।














