Logo
Logo

सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको देखियो : मानव अधिकार आयोग


378
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युवा प्रदर्शन तोडफोड र आगजनीमा परिणत भएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ । आयोगले सोमबार जारी विज्ञप्तिमा लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाज समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

The current image has no alternative text. The file name is: national-human-right-commision.gif

यद्यपि, सुरक्षा निकायको अत्यधिक बल प्रयोगलाई ‘दुस्खद’ भन्दै थप टिप्पणी गर्नबाट आयोग पछि हटेको छ । आयोगले प्रदर्शनपूर्व उच्च सुरक्षा व्यवस्था गर्न र अत्यधिक बल प्रयोग नगर्न सुझाएको छ । साथै, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

आन्दोलनको पूर्वसंकेत हुँदा पनि आयोग मौन रहेको र १६ जनाको ज्यान गएको घटनापछि पनि सघन अनुगमनमा कमी भएको भन्दै आयोगको आलोचना भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगर प्रदर्शनको दिन भाषा आयोगको गोष्ठीमा व्यस्त थिए, जसले आयोगको प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

मगरसहित आयोगका पदाधिकारीहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका हुन् । उनीहरूमाथि सरकारका मानव अधिकार उल्लङ्घनका घटनामा मौन रहने आरोप छ । आयोगले प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको जनाएको छ ।

मृतकमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको छ, तर आयोगले यसबारे विस्तृत टिप्पणी गरेको छैन । आयोगले आफ्नो सवारी र अनुगमन टोलीमाथि समेत आक्रमण भएको दाबी गरेको छ । घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शनकारीलाई शान्तिपूर्ण र संयमित रहन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्