Logo
Logo

जेन-जी पुस्ताको विद्रोहले सरकारको जग हल्लियो


1.6k
Shares

काठमाडौं । नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी पुस्ताले नयाँ विद्रोह सुरु गरेका छन् । सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेन–जी पुस्ताले सडकमै उतारेका छन् । पहिलो दिन सोमबार यो पुस्ताले सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा वृहत् प्रदर्शन गरेको छ ।

कम्तीमा १३ वर्षदेखि बढीमा २८ वर्षका युवाहरूले राज्यप्रतिका असन्तुष्टि विभिन्न सामाजिक सञ्जालमार्फत राज्य सञ्चालकमाथि खबरदारी गर्दै आएका थिए । तर, सनकको भरमा केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्लाटफर्म नै बन्द गरिदिएपछि यो पुस्ता सडकमा ओर्लिन बाध्य भए । तर, सरकारविरुद्ध चलाएको आन्दोलन पहिलो दिनमै नेपालको इतिहासकै सबैभन्दा ह्रिंसक बन्न पुगेको छ ।

प्रहरीलाई फूल दिएर, अनि सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जालमा त्यसको भिडियो पोस्ट गरेर थालिएको प्रदर्शन अन्ततः उत्तेजक बन्यो । नेपालको शक्तिकेन्द्रको नाभि मानिने सिंहदरबारको अगाडिबाट थालिएको प्रदर्शन संसद् भवन परिसरमै प्रवेश ग¥यो । प्रदर्शनमा उत्रिएका युवाहरूले सङ्घीय संसद् भवनको दुई नम्बर गेटमा आगजनी गर्नुको साथै गेटको पर्खाल समेत भत्काइदिएका छन् ।

यता, सुरक्षा निकाय भने जेन–जी प्रदर्शनकारीमाथि निर्मम बन्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड गोली प्रहार गर्दा यो समाचार तयार पर्दासम्म १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अझै मृतकको सङ्ख्या दोब्बरभन्दा बढी हुने आकलन भइरहेको छ । अहिले नै क्षतिको विवरण जुटाउन सम्भव छैन । अस्पताल युद्धक्षेत्रजस्तो भएको छ । सिभिल अस्पताल र ट्रमा सेन्टर प्रहरीको गोली लागेका घाइतेहरूले भरिएका छन् । सडक रगताम्य भएको छ । प्रहरीको गोली लागेर समाचार संकलनमा खटिएका केही पत्रकार समेत घाइते भएका छन् ।

प्रदर्शनका क्रममा घाइते भएका सिभिल अस्पतालभित्र प्रहरी छिरेर घाइतेहरूमाथि कुटपिट समेत भएको छ । यसले चैत १५ मा राजावादीहरूले गरेको शान्तिपूर्ण प्रदर्शन नियन्त्रणका क्रममा गृह प्रशासनले गरेको गल्ती फेरि दोहोरिएको स्पष्ट भएको छ ।

काठमाडौंमा मात्रै नभई देशका विभिन्न सहरमै जेन–जी प्रदर्शनकारीमाथि गृह प्रशासन निर्मम बनेको छ । पूर्वी सहर इटहरीमा पनि सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारी मारिएका छन् । उता, पोखरामा पनि गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् भने मुख्यमन्त्री कार्यालय तोडफोड भएको छ ।

प्रधानमन्त्री ओली दुवै निजी निवास झापा र भक्तपुरस्थित बालकोटमा पनि तोडफोड तथा आगजनीको प्रयास भएको छ । यता, च्यासलस्थित एमालेको पार्टी कार्यालयमा समेत प्रदर्शनकारीले तोडफोडको प्रयास गरेका छन् । भ्रष्टाचारविरुद्ध जेन–जीको आन्दोलन दबाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

स्थिति नियन्त्रणबाहिर गएको निष्कर्ष निकाल्दै प्रशासनले राजधानीका माइतीघर, बानेश्वर, शंखमुल, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति निवास शीतल निवास, उपराष्ट्रपति निवास लैनचौर लगायतका क्षेत्र तथा पोखरा, बुटवल, भैरहवा जस्ता प्रमुख सहरहरूमा कफ्र्यु आदेश जारी गरेको छ । यता, शान्तिपूर्ण प्रदर्शनको आह्वानका जेन–जी नेतृत्वकर्ता भने आन्दोलनमा घुसपैठ भएको ठहर गरेका छन् ।

भ्रष्टाचारविरुद्ध तथा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा उत्रिएको जेन–जी पुस्ताले एकै दिनमा सरकारको जगै हल्लाइदिएको छ । आन्दोलनको पहिलो दिनमै यो पुस्ता सरकारको व्यवहार, भ्रष्टाचार र अकर्मण्यताप्रति कति रुष्ट छ भन्ने कुरा स्पष्ट भएको छ ।

यसपछि के हुने हो भन्ने स्पष्ट छैन । ‘लिडरलेस मुभमेन्ट’ अर्थात् नेतृत्वविहीन आन्दोलनको रूपमा अघि बढिरहेको यो अभियानको नेतृत्व कसले गर्ने भन्ने विषयमा चासो र छलफल सुरु हुन थालेको छ । सोमबारको आन्दोलनमा जेन–जीमाथि राज्य कठोर बनेपछि काठमाडौं महानगरका मेयर बालेन साहजस्ता स्वतन्त्र व्यक्तिहरूले नेतृत्व लिनुपर्ने आवाज उठ्न थालेको छ ।

यो आन्दोलन भ्रष्टाचार, कुशासन, बिचौलिया र राज्य सत्ता कब्जा गरेर अकुत सम्पत्ति कमाउने नेताहरूका सन्तानको विलासी जीवनशैलीविरुद्ध केन्द्रित छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमले उनीहरूको स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाएपछि यो पुस्ता झन् आक्रोशित बनेको छ । सत्ताको रवैया र सुशासनको अभावले आजित जेन–जीले ‘नेपो बेबी’ अभियानमार्फत राजनीतिक परिवारवादमाथि प्रश्न उठाइरहेका छन् ।

यो अभियानले देशभरिका लाखौँ युवाहरूलाई एकजुट गरेको छ । यद्यपि, पहिलो प्रदर्शनमै हिंसात्मक मोड लिएपछि यसको दिशा र प्रभावबारे प्रश्न पनि उठेका छन् । तर, जेन–जीको यो जागरणले नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा नयाँ बहस छेडेको छ ।

समाज चरम दुरावस्थामा पुगेको छ । आज भ्रष्टाचार नपुगेको कुनै सरकारी कार्यालय छैन । जनजीवनका हरेक पाइलामा राजनीतिक दलका कार्यकर्ता, ठूला नेताका निकटतम नातेदार, निजामति कर्मचारी तथा सुरक्षाकर्मीले समेत जनतालाई लुटिरहेका छन् ।

यस्तो दुर्दशाका लागि सम्पूर्ण ठूला राजनीतिक दलका नेता जिम्मेवार छन् । तर, अहिलेको परिस्थिति हेर्दा देशको वर्तमान अवस्थाको प्रत्यक्ष जिम्मेवारी प्रधानमन्त्रीकै हो । यसमा असफल भएपछि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब दिइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

जेन–जीको यो आन्दोलन न कुनै राजनीतिक वादबाट प्रेरित थियो । यो आन्दोलन नेपाली धनाढ्य, भ्रष्ट मन्त्री, राजनीतिक कार्यकर्ता र कर्मचारीहरूको सन्तानले देखाएको अवैध सम्पत्तिको उग्र प्रदर्शनप्रति आक्रोशबाट जन्मिएको हो । सम्भवतः कहिल्यै यस्तो आन्दोलनको आह्वान वा नेतृत्व नगरेकाहरूलाई त्यसले थप उत्तेजित बनायो ।

यद्यपि, हिंसात्मक हुनुको मुख्य कारण भने प्रहरीले बलप्रयोग गर्दा संयम गुमाएको देखिन्छ । प्रहरीले रक्षात्मक रणनीतिमात्र अपनाएको भए सार्वजनिक र व्यक्तिगत सम्पत्तिको ठूलो क्षति हुन त सक्थ्यो तर यति धेरै ज्यान जाने थिएन ।

आन्दोलनको सुरुवातमै सरकारले धैयर्ता गुमाउँदा धेरै युवाको ज्यान गएको छ । यसमा राज्यपक्ष दोषी छ छँदैछ, त्यसमाथि प्रधानमन्त्रीको ओलीको अहंकार र दम्भले पनि अनिष्ट निम्त्याएको छ ।

स्वदेश÷विदेशमा रहेको करोडौँ नेपाली जनताले प्रयोग गरिरहेको सामाजिक सञ्जाल बन्द गर्दा त्यसको परिणाम के हुन्छ भन्ने नसोची सरकारले अचानक बन्द गर्दा यस्तो दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको हो । अब पनि सरकारले जनताल जिस्काउने काम ग¥यो भने त्यसको परिणाम भयावह हुने निश्चित छ ।

एमालेको विधान महाधिवेशनको मौका छोपेर विद्या भण्डारी भण्डारीको पक्षमा आउन सक्ने प्रचारबाजीलाई रोक्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस्तो हर्कत गरेको अनुमान गरिएको छ । सोमबार भएको प्रहरी दमन र देशभर लाखौँ विद्यार्थीहरूको आन्दोलनले ओली कति निरङ्कुश र अलोकप्रिय रहेछन् भन्ने कुरा प्रस्ट पारिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्