Logo
Logo

जेनजीको कब्जामा काठमाडौं


1.8k
Shares

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं जेनजी आन्दोलनकारीको कब्जामा पुगेको छ । सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनमा १९ जना मारिएपछि आन्दोलनले उग्र रुप लिँदा सडकदेखि सरकारी भवनहरुसमेत उनीहरुले कब्जा गरेका छन् ।

काठमाडौंका ठाउँ ठाउँमा आन्दोलनकारीहरु भेला भएर नारा जुलुस, आगजनी र तोडफोड गरिरहेका छन् । अधिकांश शीर्ष नेताहरुको निवास र सरकारी भवनहरु निशानामा परेका छन् ।

आन्दोलनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी बिट हुँदै अहिले उद्योग प्रतिष्ठानहरुमा समेत आक्रमण सुरु गरेका छन् ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, काठमाडौं जिल्दा अदालत, राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्री निवास बालुवाटार पूर्णरुपमा आन्दोलनकारीको नियन्त्रणमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि तोडफोड र आगजनी भएको छ ।

देउवा र उनकी पत्नी आरजुमाथि निर्घात कुटपिटसमेत गरिएको छ । पूर्वराष्ट्रपति भण्डारीको घरभित्र पनि आगजनी भएको छ ।
आन्दोलनकारीहरुले आगजनी र तोडफोड गर्दा प्रहरीले कुनै पनि हस्तक्षेप गर्न सकेका छैनन् । अधिकांश स्थानमा प्रहरीले लाचार भएर टुलुटुलु हेरिरहेको देख्न सकिन्छ ।

काठमाडौंका सडकमा यत्रतत्र आन्दोलनकारीहरुको भिड छ । सुरक्षाकर्मीहरुको उपस्थिति देखिन्न । हिजो अत्यधिक बल प्रयोग गरेकोप्रति आलोचित भएका सुरक्षाकर्मी आज आत्मसमर्पणको स्थितिमा छन् ।

जनतासुकै आगजनी हुँदा काठमाडौंको आकाश धुवाँमय भएको छ । दैनिक जनजीवन ठप्प बनेको छ । काठमाडौंवासीहरु कोही आन्दोलन गर्न त कोही रमिता हेर्न घरबाहिर निस्किएका छन् । आगजनी गर्नेहरुमा भने अधिकांश जेनजी पुस्ताका युवायुवती देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिँदा समेत जेनजी प्रदर्शनकारीहरु आनदोलनबाट पछि हट्ने अवस्थामा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्