Logo
Logo

देउवालाई असारमै तपाइँ छैंटौंपटक प्रधानमन्त्री बन्न हुँदैन भनेको थिएँ : विश्वप्रकाश


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत असारमै आफूले सक्रिय राजनीति छाड्न सुझाव दिएपनि नछाडेको बताएका छन् । महामन्त्री शर्माले शनिबार आफ्नो फेसबुक एकाउन्टमा भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्न असार १ गते झापाको धुलाबारीबाट सुझाव दिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘देउवा, ओली र दाहाललाई सक्रिय राजनीतिबाट सन्यास लिनुस्, अभिभावकीय भूमिका खेल्नुस् भनेको हुँ, असार १ गते धुलावारीको कार्यक्रमबाट । सार्वजनिक रूपमा नेतृत्वको कुरा ग¥यो भन्ने कतिपय साथीहरूलाई लाग्ला भनेर कांग्रेस केन्द्रीय समिति बैठकमै सभापति देउवालाई अब तपाईं छैंटौंपटक प्रधानमन्त्री बन्न हुँदैन भनेको थिएँ ।’

उनले सभापति देउवालाई नेतृत्व त्याग गर्न पनि आफूले भनेको स्मरण गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘सभापतिज्यू यो गर्नुभयो, त्यो काम गर्नुभयो, अब एउटा काम गर्न बाँकी छ भनेको थिएँ । सभापतिज्यूले के काम हो भन्नुभएको थियो । मैले भनेको थिएँ–छैटौं पटक प्रधानमन्त्री नबन्नुस् । तर मेरो कुरा उहाँले मान्नु भएन ।’

उनले एकपटक राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटक सांसद मात्रै हुन पाउने व्यवस्था गर्न आफूले महासमिति बैठकमा प्रस्ताव लगेपनि त्यसलाई पार्टी निर्णयका रूपमा समावेश गराउन नसकेको पनि बताएका छन् ।
‘त्यसबेला मेरो यो प्रस्ताव चर्चामा त रह्यो तर पार्टी निर्णय बनाउन सकिनँ,’ उनले भने, ‘नागरिकमा असन्तुष्टि छ, चुनाव हुने नयाँ सरकार बन्ने फेरि दुई–तीन जना नेताहरू नै प्रधानमन्त्रीमा आउने भइरह्यो ।’ यसैकारण आफूले देउवा, ओली र दाहाललाई सक्रिय राजनीति छाड्न भनेको उनको भनाइ छ ।

भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । जेनजीको प्रस्ताव र दलहरूको पनि सहमतिमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुकी प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधि सभा पनि विघटन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्