काठमाडौं । संसद् विघटनको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तोकेकै समयमा निर्वाचन गर्न माग गरेका छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शनिबार तोकेकै समयमा निर्वाचन हुनुपर्ने भन्दै चार माग अघि सारेका छन् । तीमध्ये उनको पहिलो माग छ– घोषित मितिमै आम निर्वाचन सम्पन्न हुनुपर्ने ।
त्यस्तै, भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक, निजी संरचना सम्पत्तिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।
उनको तेस्रो माग हो– भ्रष्टाचारीहरूमाथि कारबाही गर, सुशासन कायम गरी २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गर र अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर । र, चौथो माग– राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत होऔँ ।











