
काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएका कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् ।
भोटिङबाट कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेका जेनजीहरुले राजनीतिक दलभन्दा बाहिरबाट मन्त्री चयन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेनजीहरू छन् । पहिलो दिनदेखि नै मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने जानकारी आफूहरूले पाएको बताए । शुक्रबार राति नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने शर्तमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि २४ गते नै केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।














