
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसका मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जनमतले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सतिशकुमार सिंहसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको हो ।
संसदीय दलका नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहालाई सरकारबाट फिर्ता बोलाएका हुन् । नेता यादवका अनुसार सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएसकिएको छ ।
२३ गते काठमाडौं लगायत देशभर भएको जेनजी आन्दोलनमा प्रहरी दमनबाट १९ जनाको ज्यान गएपछि सिके राउतको निर्देशनमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिएका थिए । तर, शनिबार सिंहले राजीनामा नदिएको खबरहरु बाहिरिएपछि आज जनमतले पुनः उनीहरुलाई फिर्ता बोलाएको हो ।














