Logo
Logo

आगामी निर्वाचनको लागि पार्टी खोल्ने तयारीमा बालेन, क-कसले देलान् साथ ? 


39.3k
Shares

काठमाडौं । विक्रम संवत् २०८२ साल नेपाली राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण मोडको रूपमा दर्ज भएको छ । जेनजी आन्दोलनले  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढालेको छैन देश नयाँ दिशामा समेत ढल्किएको छ । पुराना दलका शीर्ष नेताहरू पाखा लाग्दै छन् नयाँ नेतृत्वको जन्म हुने सम्भावना बढेको छ । 

जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । साथै, प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरिएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने म्यान्डेटसहित प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी कार्कीले त्यसलगत्तै प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको सिफारिस गरिन्, जसलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएर नयाँ निर्वाचन मिति तय भइसकेको छ । यद्यपि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रपतिसमक्ष निर्णय फिर्ता लिन माग गरेका छन्। तर राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै देशले कठिन परिस्थिति पार गर्दै शान्तिपूर्ण निकास पाएको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबैमा अपिल गरेका छन् । 

निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ राजनीतिक दल गठनको तयारी गरेका छन् । उनले “हाम्रो नेपाली पार्टी”लाई नै अगाडि बढाउने तयारी गरेको बताइएको छ ।  यद्यपि पार्टीको नाम केही परिवर्तन गरिने बताइएको छ । यो पार्टी मूलतः ‘लौरो अभियान’का कार्यकर्ताहरूबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।

जेन–जी आन्दोलन र बालेनको समर्थन
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई बालेनले सामाजिक सञ्जालमार्फत खुला समर्थन जनाएका थिए । उक्त आन्दोलन भ्रष्टाचार र ओली सरकारले सामाजिक सञ्जलामा लगााएको प्रतिबन्धविरुद्ध थियो । आन्दोलनकारीहरूले २८ वर्षमुनिका युवाहरूलाई मात्र सहभागी बनाउने नीति अपनाएका थिए, जसले गर्दा ३५ वर्षीय बालेन प्रत्यक्ष सहभागी नभए पनि उनी नै नयाँ नेतृत्वको प्रतीकको रूपमा स्थापित भए । आन्दोलनका क्रममा सरकारी दमनमा परेर पहिलो दिनमै १९ जना आन्दोलनकारीको ज्यान गएको थियो।

त्यसपश्चात् बालेनले तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध कडा टिप्पणी गर्दै आफ्नो फेसबुक पोस्टमार्फत आन्दोलनको पूर्ण समर्थन जनाएका थिए । उनले लेखेका थिएः “भोलिको ¥याली स्पष्ट स्वतस्फुर्त रूपमा जेन–जेडको हो। उहाँहरू भनेको २८ वर्षमुनिका हुनुहुन्छ, जसको लागि म पनि अझै बूढो देखिन्छु। मलाई उहाँहरूको उद्देश्य बुझ्न मन छ। भोलिको ¥यालीमा कुनै पनि पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ता वा स्वार्थी तत्वले हस्तक्षेप नगर्नु होला । म उमेरको कारण सहभागी हुन पाउँदिन, तर मेरो समर्थन उहाँहरूलाई छ ।”

भदौ २४ गतेको आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि जेन–जी पुस्ताले काठमाडौंका मेयर बालेन शाहलाई नै प्रधानमन्त्री बनाउन चाहेका थिए । यद्यपी,  धरानका मेयर हर्क साम्पाङलाई पनि नेतृत्व दिनुपर्ने आवाज उठेको थियो । जसले गर्दा जेन–जीबीच नै अड्डामै लफडा भएको थियो । 

तर हर्क साम्पाङ उपयुक्त नेता नरहेको निष्कर्ष निकाल्दै जेन–जीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारे । बालेनले पनि आफू नयाँ दल गठनको तयारीमा रहेकाले कुनै विवादमा नपरेकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सुझाव दिएका थिए, जुन सुझावअनुसार नै सरकार गठन भयो । 

हाल कार्की नेतृत्वको सरकारमा मन्त्रीहरूलाई निर्वाचनमा उठ्न नदिने तर पार्टीमा काम गर्नुपर्ने विषयमा छलफल भइरहेको बताइएको छ । बालेनको नयाँ पार्टीले भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना र युवा सशक्तीकरणलाई मुख्य एजेन्डा बनाउने बताइन्छ । पार्टीमा धरानका मेयर हर्क साम्पाङ,  कुलमान घिसिङ तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ रहने बताइएको छ । 

देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई समेट्ने उद्देश्यसहित पार्टीले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा प्लेटफर्म बन्ने लक्ष्य राखेको छ । यसले नेपाली कांग्रेस, नेकपा एमालेजस्ता पुराना दलहरूलाई चुनौती दिने सम्भावना देखिएको छ । केही समयदेखि बालेनले नयाँ दल खोल्ने चर्चा चलिरहेको थियो। यद्यपि, यसअघि हर्क साम्पाङले उक्त कुरा असत्य भएको दाबी गरेका थिए । 

अब भने परिस्थितिले नयाँ मोड लिएको छ । नेपालको राजनीतिमा अब नयाँ युगको सुरुवात हुन सक्ने संकेत देखिएको छ । तर त्यसका लागि बालेन, हर्क, सुमना, कुलमानजस्ता सम्भावित नेताहरूले व्यक्तिगत अहमलाई पन्छाएर साझा उद्देश्यमा एकजुट हुनुपर्नेछ । अबको नेपालको राजनीतिक भविष्य बालेनकै कदममा निर्भर हुन सक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्