Logo
Logo

गभर्नरको दाबी- जेनजी आन्दोलनमा संसद् भवनमा रहेको वाणिज्य बैंकबाट ३८ करोड लुटियो


9.3k
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दाबी गरेका छन् ।

सुशान्त प्रधानको पडकास्टमा दिएको अन्तर्वार्तामा संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखामा गम्भीर चोरी भएको उनले बताएका हुन् । उनका अनुसार उक्त शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको हो ।

गभर्नर पौडेलले भने, ‘एक ठाउँमा गम्भीर लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरी भएको छ। कुल क्षति ३७–३८ करोड रुपैयाँ बराबरको देखिएको छ ।

प्रदर्शनका क्रममा राष्ट्र बैंकको मुख्य भवनमा क्षति नपुगे पनि देशभरका बैंकका शाखा तथा एटीएममा भने उल्लेख्य क्षति पुगेको देखिएको छ। बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार देशभर ६८ वटा बैंक शाखा र ६९ वटा एटीएममा क्षति पुगेको हो।

प्रदर्शनपश्चात् गभर्नर पौडेलले भदौ २६ गते संसद् भवनस्थित सो शाखाको अनुगमन गरेका थिए। प्रारम्भिक अनुसन्धानमा लकरसहित शाखा कार्यालयमा तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति भएको पुष्टि भएको हो।

हालसम्म औपचारिक विवरण सार्वजनिक भइनसकेको भए पनि गभर्नर पौडेलले ३८ करोड रुपैयाँ बराबरको लुटपाट भएको प्रारम्भिक अनुमान व्यक्त गरेका छन्।

उनका अनुसार प्रदर्शनकारीहरूको मूल निशाना बैंक नभए पनि सरकारी कार्यालय, ठूला व्यावसायिक केन्द्र र तिनीहरू नजिक रहेका बैंक शाखाहरू र एटीएमहरूमा क्षति पुगेको हो। यद्यपि संसद् भवनस्थित शाखाबाहेक अन्य क्षतिग्रस्त बैंक शाखाहरूबाट भने रकम लुटिएको पुष्टि नभएको राष्ट्र बैंकले जनाएको छ। केही स्थानमा लुटपाटको प्रयास भए पनि सफल नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्