काठमाडौं । कहिले मिल्ने, कहिले भिड्ने दुई स्वतन्त्र मेयर बालेन शाह र हर्क साम्पाङबीचको जुहारी फेरि एकपटक सामाजिक सञ्जालमा चुलिएको छ । गत स्थानीय तहको निर्वाचनमा बालेन काठमाडौं महानगरपालिकाबाट र हर्क धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा विजयी भएका थिए ।
त्यसलगत्तै काठमाडौंको फोहोर व्यवस्थापनलगायतका विषयमा तीव्र मतभेद देखिए पनि केही समयपछि दुवैले आपसी सम्बन्ध सुधार गरेका थिए ।

बालेन धरानको स्थापना दिवसमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने हर्क काठमाडौं आउँदा बालेनलाई नभेटी फर्कँदैन थिए । तर, पछिल्लो समय जेन–जी आन्दोलनपछि यी दुईको सम्बन्धमा दरार आएको देखिन्छ ।
भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिमा ठुलो उथलपुथल ल्यायो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो र संसद् विघटन भयो । त्यसपछि बन्ने भनिएको अन्तरिम सरकारमा हर्क साम्पाङ प्रधानमन्त्री बन्ने आकांक्षाका साथ काठमाडौं आएका थिए ।
काठमाडौं आएका हर्क अन्तरिम सरकार गठनका लागि नेपाली सेनासँग भएको छलफलमा समेत सहभागी भए । तर काठमाडौंका मेयर बालेनले हर्कको सट्टा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे । र, कार्की नेतृत्वमै अन्तरिम सरकार गठन भयो । त्यसयता हर्कले सामाजिक सञ्जालमा बालेनप्रति लगातार असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि हर्कको आक्रोश चुलिएको छ । उनले बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष, आरोप र गालीपूर्ण अभिव्यक्तिहरू निरन्तर दिइरहेका छन् ।
गत मंगलबार उनले लेखेका छन्– “लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन ।” त्यसअघि सोमबार पनि उनले लेखेका थिए, “को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन !” उनले आफूले नचाहेको पद दिइन खोजिएको तर चाहेको पद नदिइएको आरोपसमेत लगाएका छन् ।
त्यति मात्रै होइन उनले देश जलिरहेको बेला पाँच सय किलोमिटर टाढाबाट देशको जिम्मा लिन काठमाडौं आएको पनि बताएका छन् । उनले लेखेका छन्, “देश जलिरहेकै बेला म पाँच सय किलोमिटर टाढाबाट देशको जिम्मा लिन काठमाडौं पुगेको हुँ। खानेपानी र श्रम तथा रोजगार मन्त्रालय दिँदा पनि नलिएको मान्छे हुँ म । अहिलेको गृहमन्त्रीसँग मेरो कुनै सम्बन्ध छैन, संयोग मात्रै हो कि ?” साथै, उनले संविधानमै नभएको प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन गरेर देखाउने चुनौतीसमेत दिएका छन् ।
हर्क सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला बालेन भने शान्त देखिएका छन् । उनी हर्कलाई चिढ्याउनेभन्दा पनि फकाउने प्रयास गरिरहेका छन् । मंगलबार उनले स्टाटस लेखे, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । युआर माई ट्रु लभ ।’
तर बालेनको यस्तो प्रेमपूर्ण अभिव्यक्तिले पनि हर्कको आक्रोश कम भएको छैन । फेसबुकमा लगातार स्टाटसले लेख्दै बालेनमाथि खनिरहेका छन् । देश जलाएको खरानको व्यापार गर्दै लभको कुरा गरेको हर्कले बताए छन् ।
उनले लेखेका छन्– ‘‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभको कुरा ! मुखमा राम राम बगालीमा बम्फक ! कठै… मुतको न्यानोमा जूनी बिताउनेहरुको कमी छैन फेरि…।’’
यतिमा मात्र नरोकी उनले बालेनमाथि निर्दोष विद्यार्थीहरूको रगतमा होली खेलेको आरोपसमेत लगाएका छन् । उनले लेखेका छन्– “विदेशीको इसारामा निर्दोष विद्यार्थीहरूको रगतको होली खेल्नेहरू मसँग हात मिलाउन नखोज्दा हुन्छ । समय र इतिहासले दण्डित गर्नेछ तिमीहरूलाई। नैतिकता र वैधताको बहसमा तिमीहरूको हार हुँदै जानेछ ।”
किन फकाउँदै छन् बालेन ?
जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ भने आगामी फागुन २१ गते नयाँ निर्वाचनको घोषणा गरिएको छ । यही चुनावलाई लक्षित गर्दै बालेनले नयाँ राजनीतिक दल गठनको तयारी गरिरहेका छन् ।
उनी हाम्रो नेपाली पार्टीलाई केही नाम परिवर्तनसहित औपचारिक पार्टीको रूपमा अघि बढाउने तयारीमा छन् । यस अभियानको सुरुवात अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं र धरानमा बालेन र हर्कलाई समर्थन गर्ने ‘लौरो अभियान’का कार्यकर्ताबाट भएको थियो ।
अब देशभरका स्वतन्त्र र युवा नेताहरूलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यसहित बालेनले प्रयास थालेका छन् । त्यही रणनीतिको हिस्सा स्वरूप बालेन हर्कलाई फकाउने प्रयास गरिरहेका छन् । धेरैले यी दुई स्वतन्त्र मेयर मिलेर अघि बढुन् भन्ने अपेक्षा राखेका छन् । तर हर्कको आक्रोश रोकिएको छैन ।
अब बालेन र हर्कबीचको सम्बन्ध अझै चिसिँदै जान्छ कि पुनः सुधार हुन्छ भन्ने प्रश्न भने जनचासोको विषय बनेको छ ।














