काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान व्यवस्थामाथि आफूले बारम्बार उठाउँदै आएको प्रश्न अझ पुष्टि भएको निष्कर्ष निकालेको छ । पार्टीले वर्तमान नेतृत्व र यसले ल्याएको व्यवस्था असफल भएको घोषणा पहिल्यै गरिसकेको र पछिल्लो समय जेनजीहरूको प्रदर्शनले यो कुरालाई थप बलियो बनाएको जनाएको छ ।

बिहीबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वर्तमान संविधानबाट देशलाई अघि बढाउन खोज्नु पुनः असफलतातर्फ धकेल्नु भएको ठहर गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
‘भविष्यमा देशमा थप धनजनको क्षति हुनबाट रोक्न, दीर्घकालीन द्वन्द्वबाट जोगाउन, भूराजनीतिक जटिलता र बाह्य हस्तक्षेपबाट मुलुकलाई सुरक्षित राख्न, र नेपाली जनताको हातमा निर्णायक शक्ति सुनिश्चित गर्न सबै राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी आवश्यक छ,’ राप्रपाले भनेको छ ।
















