काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले देशमा बिजुलीको बजार नभएको बहानामा उत्पादन रोक्न नहुने स्पष्ट पारेका छन् ।

मन्त्री घिसिङले भने , “देशलाई अहिले पनि २० देखि ३० हजार मेगावाट बिजुली आवश्यक छ । निजी क्षेत्रले लगानी गरे सरकारले लगानी गर्नुपर्दैन। बजार नभएको होइन , बजार सिर्जना गर्ने हो ।” उनले आगामी दशकमा बिजुली उत्पादन रोक्ने नीति अपनाउँदा ठूलो समस्या आउन सक्ने चेतावनी दिएका छन्।
यसअघि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले नयाँ मन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै ऊर्जा क्षेत्रमा निजी लगानीका लागि सहज वातावरण बनाउन आग्रह गरेको थियो।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि बिजुली खरिद सम्झौता पीपीए रोकिराख्दा निजी लगानीकर्ताको मनोबल प्रभावित भएको बताए । उनले लगानीका लागि सकारात्मक वातावरण बनाउन मन्त्री घिसिङसँग आग्रह गरेका थिए ।
मन्त्री घिसिङले पनि निजी क्षेत्रको लगानी बढाउन आवश्यक नीति र सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा क्षेत्रमा लगानी बढाउन ठोस कदम चाल्नुपर्ने अवस्था छ, नभए आगामी दिनमा बिजुली अभाव र आर्थिक संकट आउन सक्ने उनले बताए ।














