Logo
Logo

जेन-जी आन्दोलनपछि सुरक्षा चुनौती बढ्यो, फरार कैदीले जनतामा त्रास  


1.8k
Shares

काठमाडौं । गत साता जेन-जी आन्दोलन चर्किएपछि नेपालमा अभूतपूर्व सङ्कट देखियो । देशभरका २७ कारागार र नौ बाल सुधार गृहबाट हजारौँ कैदीबन्दी र बालबिज्याइँकर्ता फरार रहेका छन् । कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै करिब १३,५९१ कैदीबन्दी र १,४२२ बालबिज्याइँकर्ता गरी कुल १५,००० भन्दा बढी व्यक्ति फरार भएका थिए ।

The current image has no alternative text. The file name is: kaidibandi.gif

यो सङ्ख्या देशभरका ३०,६३४ कैदीबन्दीको ४६ प्रतिशत र बाल सुधारगृहका दुईतिहाइ बन्दी हो । असोज १, को तथ्याङ्कअनुसार ८,०९६ कैदीबन्दी र ७२० बालबिज्याइँकर्ता गरी ८,८१६ जना अझै फरार छन् । यो ठूलो सङ्ख्यामा भएको जेलब्रेकले चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक सुरक्षाप्रति चिन्ता बढाएको छ ।

दोषी ठहर भएका हजारौँ अपराधी र प्रहरी हिरासतमा रहेका अभियुक्तहरू बाहिर निस्किएकाले चोरी, डकैती र अन्य अपराधका घटना बढ्ने सम्भावना छ । भदौ २४ मा नक्खु कारागारबाट भागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही फर्किए पनि अधिकांश फरार रहेकाले सामाजिक सुरक्षा खतरामा रहेको छ । सुरक्षा विज्ञहरूले फरार कैदीहरूलाई तत्काल फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

चाडपर्वको समयमा अपराधीहरू बाहिर रहँदा अपराध बढ्ने जोखिम रहेको प्रहरी चिन्ता छ । जसले सुरक्षा चुनौती धेरै बढाएको छ । फरारहरूलाई पक्रन प्रहरीले विशेष टोली गठन गरेको छ र खुला सीमाका कारण भारततर्फ भाग्न सक्ने सम्भावनालाई रोक्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको छ ।

बुधवारसम्म ५,८०० कैदीबन्दी फर्किएको प्रहरीले जनाएको छ । कारागार व्यवस्थापन विभागका अनुसार असोज १ सम्म ५,४९५ कैदीबन्दी र २४४ बालबिज्याइँकर्ता गरी ५,७२९ जना फर्किएका छन् । फरार रहेका कैदीहरूको खोजीलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले फर्कन नआए कारागार ऐन, २०७९ अनुसार कारबाही हुने चेतावनी पनि जारी गरेको छ ।

यो घटना नेपालको इतिहासमा अभूतपूर्व मानिएको छ । आन्दोलनका कारण शिथिल भएको सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै पूर्वको झुम्का कारागारदेखि पश्चिमको कञ्चनपुर कारागारसम्म कैदीहरू भागेका थिए । भाग्ने क्रममा बाँकेको नौबस्ता बाल सुधारगृहमा पाँच, रामेछापमा तीन र धादिङ कारागारमा दुई जनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो ।


आन्दोलनका क्रममा प्रहरीका हतियार लुटिए वा नष्ट भएकाले सुरक्षा चुनौती थप जटिल बनेको छ । पछिल्लो समय चोरीचकारीका घटना बढेका छन् र कतिपय स्थानमा स्थानीयले रातमा गस्ती गर्न थालेका छन् । नयाँ सरकारले जनतालाई शान्ति-सुरक्षाप्रति आश्वस्त पार्नु अहिलेको मुख्य आवश्यकता भएको छ ।

चाडपर्व नजिकिँदै छ, जनता त्रासमा छन् । प्रहरीले नागरिकसँग मिलेर फरारहरूबारे सूचना सङ्कलन गर्न र देखिएमा नजिकको प्रहरीमा खबर गर्न आग्रह गरेको छ । खुला सीमाको दुरुपयोग रोक्न भारतसँग जोडिएका जिल्लाका प्रहरी प्रमुखमार्फत समन्वय भइरहेको छ । सरकारले यो सङ्कट समाधान गर्न र जनविश्वास पुनःस्थापित गर्न तीव्र कदम चाल्नुपर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्