काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नेपालीको चाहना सबैको समृद्धि, सुखी र खुसी भएको भन्दै संविधानको उद्देश्य र लक्ष्य पनि यही भएको बताएका छन् । पूर्वअध्यक्ष रेग्मीले ११औँ संविधान दिवशको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘एघारौँ संविधान दिवसको उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, सङ्घर्ष र द्वन्द्वको फलस्वरूप नेपाली जनता सार्वभौम भए र संविधानसभा मार्फत आफ्नो संविधान आफैं बनाउन सफल पनि भए । नेपालीको मात्र चाहना सबैको समृद्धि, सुखी र खुसी नै हो । स्वतन्त्रता, समानता र सामाजिक न्याय सबैका लागि प्रिय र आवश्यक तत्त्वहरू हुन् । संविधानको उद्देश्य र लक्ष्य पनि यही नै हो ।’
संविधान जारी भएको एक दशक पूरा हुँदा पनि संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा जेनजी पुस्ता आक्रोशित भदौ २३ र २४ को घटना भएको उनको भनाइ छ ।
‘आज संविधान जारी भएको दश वर्ष अर्थात् एक दशक पूरा भएको छ । तर संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा र अन्य अनपेक्षित कुराहरू र घटनाहरूले बढावा पाउँदा जनतामा निराशा र आक्रोश व्याप्त हुँदै गयो, चुलिँदै गयो । जेन जी अर्थात् नयाँ पुस्ता बढी नै निराश र आक्रोशित बन्यो’ उनले भनेका छन्, ‘गत भाद्र २३ र २४ को घटना नेपालको इतिहासमा नयाँ प्रकृतिको जेन जी आन्दोलनको नयाँ रूप थियो । यो एउटा विशिष्ट प्रकृतिको टर्निङ पोइन्ट रह्यो ।’
उनले जेनजी पुस्ताको आन्दोलनपछि नयाँ चुनावी सरकार गठन भएको भन्दै वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जगाउन समर्थ हुने विश्वास व्यक्त गरेका छन् ।
आन्दोलनका क्रममा इतिहासदेखि नै नेपाल र नेपालीको पहिचानका रूपमा रहेका महत्वपूर्ण राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरहरूमा नोक्सानी पुग्नु निकै दुःखद् विषय भएको पनि उनले बताएका छन् ।
‘सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनेछ भन्ने सबैको अपेक्षा र विश्वास छ । वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जगाउन समर्थ हुनेछ भन्ने जनताको भरोसा हो’ उनले सन्देशमा भनेका छन् । साथै, पूर्वअध्यक्ष रेग्मी तोकिएकै समयमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘तोकिएको समयमा निर्वाचन सम्पन्न भई अत्यधिक नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत भएको संसद् निर्माण हुन सकोस् । समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकांक्षाले नयाँ मार्गचित्र पाओस् भन्ने कामना गर्दछु’ उनले भनेका छन् । साथै, उनले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर सपुतप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।














