
आइआइएफटी स्कुल अफ इन्टेरियल डिजाइनमा शैक्षिक प्रमुख (एकेडेमिक हेड) का रुपमा कार्यरत शैलिशा शाक्य चर्चित इन्टेरियल डिजाइनर हुन् । शाक्य हालैमात्र फिलिफिन्समा सम्पन्न ‘एपीएसडीए अवार्ड २०२५’बाट सम्मानित भएकी छन् । एसिया प्यासिफिक स्पेश डिजाइनर एशोसिएसन एपीएसडीद्वारा आयोजित ‘एपीएसडीए अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्ने शाक्य एक्ली हुन् । साथै, शैलिशाले शाक्य इन्टेरियल डिजाइनिङसम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन् । उनले ‘सोलुशन’ र ‘द पोष’ सञ्चालन गर्दै आएकी छन् । यिनै इन्टेरियल डिजाइनर शैलिशा शाक्यसँग रेजिना पाण्डेले गरेको कुराकानी ।
फिलिपिन्समा आयोजित ‘एपीएसडीए अवार्ड–२०२५’मा अवार्डेड हुँदाको अनुभव सुनाउनुस् न ?
कुनै पनि काम गरेर कामको सफलता पाइन्छ भने ममात्र होइन, सबै खुसी हुन्छ । यतिखेर म पनि धेरै खुसी छु । फिलिपिन्समा आयोजित एपीएसडीए अवार्ड २०२५ मा विजयी हुनु मेरा लागि साँच्चैकै गर्वको कुरा हो । साथै, यो अवार्ड प्राप्त गर्ने म पहिलो नेपाली पनि हुँ, त्यसैले झनै खुसी छु ।
तपाईँले उक्त कार्यक्रममा कस्तो प्रस्तुति दिनुभएको थियो ?
नेपाली परम्परा, आधुनिक र पुराना कलाहरूलाई नेचर प्रकृतिमा समावेश गरेर पूरा डिजाइन गरेको थिएँ । सबैले मन पराइदिनुभयो ।
तपाईंको यस क्षेत्रप्रति आकर्षण कसरी भयो ?
मेरा दुई दिदीहरु यसै क्षेत्रसँग आवद्ध हुनुहुन्छ । एक दिदी इन्जिनियर र अर्की आर्किटेक हुनुहुन्छ । उहाँले गरेका कामहरु मन परेर मैले पनि यही क्षेत्र रोजेकी हुँ । मेरो लागि राम्रो पनि भयो । आइआइएफटी स्कुल अफ इन्टेरियल डिजाइनमा सुरुवाती दिनदेखि शैक्षिक प्रमुख (एकेडेमिक हेड)का रुपमा कार्यरत छु ।
अहिले इन्टेरियलप्रति युवाहरुको झुकाव भएको देखिन्छ, किन होला ?
पहिले पनि यसमा युवाको झुकाव नभएको भने होइन । धेरै इन्टेरियल डिजाइनरहरु बाबुबाजेकै काम सम्हालेर बसेका पनि छन् । तर, अहिले यसको डिमाण्ड बढेको छ । फरक यतिमात्र हो कि अहिले यो विषयमा कलेजहरु धेरै खुलेका छन् । यो विषय पढ्न थालेपछि र समयअनुसार घर तथा विल्डिङ र सडक, हरेक चिज नयाँनयाँ बनिरहेको छ । यो आवश्यता पनि हो । समयअनुसार काम हेर्ने हो भने इन्टेरियलप्रति अत्याधिक डिमाण्ड बढेको मान्नुपर्छ । यसले राम्रो रोजगार पनि उपलब्ध गराएको छ ।
नेपालमा इन्टेरियल डिजाइनको अवस्था कस्तो छ ?
अहिले यसको डिमाण्ड धेरै बढेको को छ । राम्रो पनि छ । हरेकले आफ्नो काम देखाउन पाएका छन् । क्रियशन र क्रियटेफिटको काम भएर पनि होला, धेरैले आफ्नै सोच र योजना पनि काम गरेका छन् ।
तपाईं इन्टेरियल डिजाइनरसँगै व्यवसायी पनि हुनुहुन्छ है ?
हो, मैले व्यागको व्यवसाय पनि गर्दै आएको छु । यो व्यवसाय राम्रै भइरहेको छ । पाटनमा मेरो व्याग पसल छ । अहिलेचाहिँ कामको व्यस्तताले गर्दा पसलबाट भन्दा पनि अनलाइन अर्डरहरु बढी लिने गर्छु ।
ब्याग व्यवसाय गर्ने सोच कसरी आयो ?
एक चोटी मलाई विशेष कार्यक्रममा जानु थियो । राम्रो ब्यागको निकै जरुरी थियो । सोचेजस्तो ब्याग मैले पाटन एरियामा पाइन्ाँ । र, नक्साल नागपोखरीमा ब्याग खोज्दै पुगे । त्यहाँ अलि राम्रो ब्याग देखँे । महिलालाई चाहिने जरुरी ब्याग नेपालमा ल्याउन सकियो भने राम्रो हुने देखेर मैले चाइनाबाट राम्रो क्वालिटीको ब्याग झिकाएर बेच्न थालेँ ।
तपाईं व्यापारी कि डिजाइनर के भन्न रुचाउनुहुन्छ ?
यी दुवैले मेरो जीवनमा परिर्वतन ल्याएको छ । त्यसैले म दुवै हँु ।
अरुका धेरै घर डिजाइन गर्नुभयो, आफ्नो घर कतिको डिजाइन गर्नुभएको छ ?
गर्छु । मलाई घर सजावट गर्न मन पर्छ । सानो ठाउँ भए पनि घर सफा सुन्दर देखियोस् भन्ने मलाई लाग्छ ।
ग्राहककै रुचिअनुसार डिजाइन गर्नुहुन्छ कि आफ्नै तरिकाले गर्नुहुन्छ ?
काम गर्दा ग्राहककै रुचिअनुसार शतप्रतिशत काम गर्नुपर्छ । धेरै ग्राहकले आफ्नो योजना आफैँ बनाउनुभएको हुन्छ । तर कहिलेकहीँ ग्राहकसँग सरसल्लाह लिएर पनि काम गर्नुपर्छ । यसो गर्दा झनै राम्रो हुुन्छ ।
तपाईं प्रायः कस्ता डिजाइन मन पराउनु हुन्छ ?
हामीले ग्राहककै रुचिमा काम गर्नुपर्छ । ग्राहक सन्त्ुाष्टि भयो भने मात्र हाम्रो कामले निरन्तरता पाउँछ । तर, मलाई चाहिँ नेपालीपन नेचरकला, कृति र परम्परागत संस्कृतिसँग आधुनिक ढाँचामा बनोस् जस्तो लाग्छ ।
भविष्यमा आफ्ना लागि कस्तो डिजाइनको घर बनाउने सोच बनाउनुभएको छ ?
मैले भनिहाले नि, मलाई प्राकृतिक कला, संस्कृतिको समिश्रण साह्रै मनपर्छ । यस्तैमा आधारित रहेर आधुनिक ढाँचामा घर बनाउने रहर छ ।
यो क्षेत्रमा कमाई कस्तो छ ?
राम्रै छ । काम गरेको पारिश्रमिक लिने हो । सानो प्रोजक्ट छ भने रकम पनि सानै हुन्छ । कामअनुसार कमाइ हुन्छ ।
आजसम्म काम गर्दा कति लिनुभयो खुलाउन मिल्छ ?
मिल्छ । सुरुमा तीन हजार लिएको थिएँ एउट प्रोजेक्टमा । जसमा भोलेन्टियरका रुपमा काम गरेकी थिएँ भने अहिले प्रोजेक्ट हेरेर एक लाखसम्म लिन्छु ।











