
काठमाडौं । बाढीपहिरोले आज देशभरका विभिन्न ६ राजमार्ग अवरुद्ध भएको छ । नेपाल नेपाल प्रहरीका अनुसार वर्षातपछि पहिरो खस्दा संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग अवरूद्ध छ । त्यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने पुल बगाएपछि अवरूद्ध छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा अरनिको राजमार्ग अवरूद्ध छ । यो खण्ड झन्डै दुई महिनादेखि अवरूद्ध छ ।
म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा बेनी–दरबाङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ भीरकुनामामा जाजरकोट–डोल्पा सडक खण्ड पूर्णरूपमा अवरूद्ध छ ।
यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुलनजिकै पहिरो खस्दा उक्त राजमार्ग अवरूद्ध छ । त्यहाँ तीनवटा उपकरण प्रयोग गरी यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । तर पहिरो झरिरहेकाले चुनौतीपूर्ण बनेको छ । तुइन पुलनजिकै शुक्रबार साँझबाट पहिरो खस्न थालेको थियो ।















