Logo
Logo

प्रधानमन्त्री बन्ने सपना देख्दादेख्दै ‘प्रचण्ड’घेराबन्दीमा


0
Shares

काठमाडौं । प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले यही भदौ महिनामै प्रधानमन्त्री बन्ने सपना देखिरहेका थिए । जेनजी आन्दोलनमा दमन भएपछि प्रधानमन्त्री केपी ओलीले बाध्य भएर राजीनामा दिने बुझाइमा रहेका प्रचण्डले भदौ अन्तिम सातामै प्रधानमन्त्री बन्ने सपना देखेका थिए । ओलीको राजीनामापछि माओवादीका तर्फबाट आफैं प्रधानमन्त्री बनेर पनि नेतृत्व सम्हाल्नुपर्ने अवस्थामा आउनसक्ने बुझाइमा रहेका उनी २३ भदौको साँझदेखि नै कांग्रेस र विपक्षी दलका नेताहरूसँग निरन्तर सम्पर्कमा थिए ।

भदौ तेस्रो सातातिरै अब देशमा सरकारविरुद्ध नयाँ आन्दोलन हुने घोषणा गरेका प्रचण्ड जेनजीहरूले सरकारविरुद्ध आन्दोलन गरेको र त्यसले अहिलेको सरकार फाल्ने विश्लेषणमा भएकाले पहिलो दिनको आन्दोलनबाट हौसिएका थिए । विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेका प्रचण्डले प्रधानमन्त्रीमाथि राजीनामाको दबाब बढाउन बिहान ८ बजे आफ्नै पार्टीको संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । सोही कारण सवा ७ बजेपछि प्रचण्ड खुमल्टारस्थित निवासबाट बाहिरिसकेका थिए । तर उनले विपक्षी दलको बैठक राख्न पाएनन् । खुमलटार पनि फर्कन पाएनन् ।

उल्टै सिंहदरवारबाट सेनाले रेस्क्यू गर्नुपर्यो । भदौ २४ गते बिहानैबाट तोडफोड र आगजनी सुरु भयो । सिंहदरबारमा विपक्षी दलहरू भेला भइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाको घर तोडफोड गरिएको र देउवा दम्पतीलाई कुटपिट गरिएको सूचना पाएका थिए । सामाजिक सञ्जालमा भिडिओ लाइभहरू आउन थालेपछि प्रचण्डको सत्तारोहणको सपना तुहिएको थियो ।

त्यो हेरेपछि प्रचण्ड सिंहदरबारमा आफैले राखेको बैठक छाडेर हिँडे । छोरी गंगा दाहालसहित प्रचण्ड सिंहदरबारभित्रै रहेको नेपाली सेनाको नरसिंह दल गणमा पसे । बाबुछोरी त्यहीँ बसे । उनीहरू सिंहदरबारभित्रै नरसिंह दल गणमा हुँदा दिउँसो आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरे । प्रधानमन्त्री कार्यालयसहितका मन्त्रालयहरू जलिरहँदा प्रचण्ड त्यहीँ भएपनि केही गर्न सक्ने अवस्था थिएन ।

नेपाली सेनाको ब्यारेकमा कुनै सुरक्षा चुनौती नदेखिएपछि प्रचण्डलाई सिंहदरबारकै ब्यारेकमा राखिएको थियो । आन्दोलन साम्य भएपछि प्रचण्ड शुक्रबार छुट्टै निवासको व्यवस्था गरेर बाहिरिएका थिए । उनले नरसिंह दल गणको ब्यारेकमै तीन रात बिताए । खुमलटारस्थित प्रचण्डको निवास र सुनकोठीस्थित गंगा दाहालको घरमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । अहिले उनीहरू अर्कै ठाउँमा डेरा खोजेर सरेका छन् । उनी आफै सरकारमा सहभागी नभए पनि अहिलेको सरकारका उनका मान्छेहरू सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्