काठमाडौं । जेन-जी आन्दोलनपछि सत्ता छोड्न बाध्य भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बसिरहेका छन् । भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आन्दोलनकारीले आगजनी गरेपछि पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा राजेन्द्र श्रेष्ठको घर भाडामा लिएर ओलीलाई व्यवस्थापन गरेका हुन् ।

सोही घरबाट ओलीले पार्टीका नेताहरूसँग व्यक्तिगत छलफल गरिरहेका छन् । चार दिनको अवधिमा उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत अधिकांश पदाधिकारीसँग कुराकानी गरिसकेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । राजेन्द्र गौतमका अनुसार अध्यक्षले अहिले वान टु वान छलफल गरिरहेका छन् । सबैको राय बुझेर मात्र सचिवालय बैठक बसेर पार्टीको धारणा सार्वजनिक गरिने गौतमले बताए ।
दसैँअघि वा पछि बैठक बस्ने निश्चित भएको छैन । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति बदलिएको छ । गैरदलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति घोषणा भएको छ ।
प्रमुख दलहरूले संसद् विघटनलाई असंवैधानिक ठहर गरेका छन् । नेपाली कांग्रेस, माओवादी र रास्वपाले औपचारिक बैठक बोलाए पनि एमालेले हालसम्म बैठक बोलाउन सकेको छैन । आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको बहस चर्किएको छ, तर ओली यो विषयमा सकारात्मक देखिएका छैनन् ।














