काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा सूचनामा बेखबर रहेर नै अवकाशमा गएका छन् । जेनजी आन्दोलनको यति ठूलो उभार आउदा पनि थापाको सूचना संयन्त्रले भेउ पाउन सकेन ।

उनले अवकाश पाएको दुई साता बितेपछि बल्ल अर्को नियुक्ति भएको छ । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पूरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा गएपछि प्रधानमन्त्रीले अर्को नियुक्ति गरेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।
उनी अवकाशमा गएसँगै विभाग प्रमुखविहिन बनेको थियो । उनी अवकाशमा जानुअघि नै जेजनी आन्दोलनले राष्ट्रिय राजनीतिमा उथलपुथल आएको थियो । उपयुक्त सूचना संकलनमा चुकेको राअविमा अहिले नियुक्ति भएका टेकेन्द्र कार्की सूचना संकलन र व्यवस्थापनमा अब्बल मानिएका छन् ।
मुलुक संक्रमणकालमा प्रवेश गरेका बेला सूचना संकलन गर्ने निकायको प्रमुख नै रिक्त भएको थियो । प्रधानमन्त्री कार्यालयले गुप्तचर विभागको सूचनालाई विश्लेषण गर्ने गरेको छ ।
२०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरू नयाँ गुप्तचर प्रमुख हुने लाइनमा थिए । आफ्ना ब्याचमेट टेकेन्द्र कार्की र ओमप्रकाश जोशीलाई पछाडि पारेर थापा विभागको प्रमुख बनेका थिए । तिनै कार्की र जोशी प्रमुख हुने प्रतिस्पर्धामा भए पनि अहिले कार्कीले बाजी मारेका छन् ।
मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना संकलन गर्ने जिम्मेवारी दिइएको हुन्छ । जिल्ला इन्चार्ज र केन्द्रमा विभागीय प्रमुखले तोकेको ‘एजेन्ट’हरूले पनि विभागलाई सूचना उपलब्ध गराउँछन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशकद्वय कार्की र जोशीसँगै विभागमा ९ जना अनुसन्धान निर्देशक छन् ।
अनुसन्धान निर्देशकहरू ७ वटा प्रदेश, उपत्यकामा र प्रशासन विभागमा छन् । सह–अनुसन्धान निर्देशक ११ जना छन् । काठमाडौँ, ललितपुर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हेटौँडास्थित इन्टेलिजेन्स शिक्षालयमा सह अनुसन्धान निर्देशकले कमान्ड गर्छन् ।
उपअनुसन्धान निर्देशक ५३ जना र प्रमुख अनुसन्धान अधिकृत ९० जना छन् । अनुसन्धान अधिकृतहरू १६० जना छन् । विभागमा कार्यरत कर्मचारीहरूले ६ महिनाको तालिम लिएका हुन्छन् । हेटौँडा, नेपाल प्रहरी एकेडेमी र सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा उनीहरूलाई तालिम गराइन्छ । उनीहरूले साना हतियार र एसएलआर समेत चलाउने तालिम लिन्छन् ।
देशभरबाट संकलन हुने सूचना र विश्लेषण सिलबन्दी गरेर विभागले राज्यका महत्त्वपूर्ण निकायहरूलाई दिँदै आएको छ । विभागले सिलबन्दी रिपोर्ट साप्ताहिक रूपमा बुझाउँछ । तर जेनजी आन्दोलनको विश्लेषण गर्ने अहिलेको विभागीय टिमले गर्न नसकेको बताइएको छ ।











